काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४ किलोग्राम ८०० ग्राम अवैध लागुऔषध ‘थाई गाँजा’ सहित एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको केरला राज्यस्थित मुलरिया स्थायी ठेगाना भएका २९ वर्षीय अब्दुल नौशाद रहेका छन् ।
लागुऔषध नियन्त्रण ब्यूरोको विमानस्थल शाखा कार्यालय गौचरणबाट खटिएको प्रहरी टोलीले मिति २०८३ मंसिर ८ गते उनलाई नियन्त्रणमा लिएको हो । हवाई मार्ग हुँदै नेपाल प्रवेश गर्ने शंकास्पद यात्रुहरूमाथि विशेष निगरानी राख्ने क्रममा प्रहरीले उनलाई जाँच गर्दा उक्त परिमाणको लागुऔषध फेला पारेको ब्यूरोले जनाएको छ ।
प्रहरीका अनुसार नौशाद थाइल्याण्डबाट मलेसियाको क्वालालम्पुर ट्रान्जिट हुँदै बाटिक एयर को उडान नम्बर ओडी १८२ मार्फत काठमाडौँ ओर्लिएका थिए । विमानस्थलमा गरिएको खानतलासीका क्रममा उनको साथबाट ४.८ किलोग्राम थाई गाँजाका साथै एक थान पासपोर्ट र एक थान मोबाइल फोन समेत बरामद गरिएको छ ।
लागुऔषधसहित पक्राउ परेका नौशादलाई नियन्त्रणमा राखी लागुऔषध नियन्त्रण ब्यूरोले घटनाबारे थप अनुसन्धान अगाडि बढाएको जनाएको छ ।