सरकारले सार्वजनिक यातायाता साधन प्रयोगकर्ताहरुलाई फेस सिल्ड लगाउनु पर्ने अनिवार्य गरेको छ । विमानहरुमा अनिवार्य गरिएको फेस सिल्ड अब सार्वजनिक यातायातका यात्रुका लागि पनि बाध्यकारी बनाइएको हो ।

कोरोनाभाइरस संक्रमण नियन्त्रणका लागि फेस सिल्ड अनिवार्य गर्न लागिएको यातायात व्यवस्था विभागका सूचना अधिकारी डा। लोकनाथ भुसालले जानकारी दिए । उनकाअनुसार मध्यम तथा लामो दूरीका सवारी साधनका यात्रुका लागि अनिवार्य रुपमा फेस सिल्ड लगाउनु पर्ने छ ।

‘कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि अब मध्यम तथा छोटो दूरीका सवारी साधन प्रयोग गर्ने यात्रुले अनिवार्य रुपमा फेस सिल्ड लगाउनु पर्ने नियम बनाइएको छ’, उनले क्यानडानेपाल डटकमसँग भने ।सरकारले गत असोज २६ गते नै सार्वजनिक सवारीले सिट क्षमताको पुरै यात्रु बोक्न पाउने भएपछि यात्रुबीचको भौतिक दूरी कायम नहुने भएकाले यात्रुलाई अनिवार्य फेस सिल्ड लगाउनु पर्ने निर्देशिका बनाइएको उनले जानकारी दिए ।
यसबारे ट्राफिक प्रहरी र यातायात व्यवसायीहरुलाई पत्राचार गर्ने तयारी भइरहेको भुसालले बताए । फेस सिल्ड यात्रु आफैंले किनेर प्रयोग गर्नुपर्ने जानकारी दिएका उनले यो नियमलाई अनिवार्य रुपमा पालना गर्न गराउन आग्रह गरेका छन् ।सार्वजनिक यातायातका यात्रुलाई फेस सिल्ड अनिवार्य गर्न विभिन्न क्षेत्रबाट दबाब आएपछि सो निर्णय गरिएको उनले जानकारी दिए । छोटो दूरीका यात्रुका लागि अहिले अनिवार्य नगरिए पनि यसबारे छलफल भइरहेको भुसालले बताए ।
आइतबार बडा दशैंको दोस्रो दिन भए पनि यस वर्ष सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरिएको छैन । यस वर्ष औपचारिक रुपमा अग्रिम बुकिङ खुला नगरिए पनि यातायात व्यवसायीहरुले भने टिकट दिइरहेका विभागका सूचना अधिकारी डा। लोकनाथ भुसालले क्यानडानेपाललाई जानकारी दिए ।‘यात्रुको चाप कम रहेकाले यस वर्ष औपचारिक रुपमा अग्रिम टिकट बुकिङ खुला गरिएको छैन’, उनले भने, तर, टिकट काउन्टरमा गएर अग्रिम टिकट लिन भने पाइने छ।’