कमला भट्टराई झापा / माइती नेपालले विदेश जाने बहानामा अवैध रुपमा काँकडभिट्टा नाका पार गर्न खोज्ने चार महिलाको बुधबार उद्धार गरेको छ। मानव बेचबिखनका जोखिमका रहेका कारण उद्धार गरिएका चार महिला खोटाङ, गुल्मी, सुनसरी र मोरङका छन्।

शंकास्पद अवस्थामा नाकामा डुलिरहेको देखेपछि माइती नेपालका सीमा निगरानीकर्ताले उनीहरुलाई इलाका प्रहरी कार्यालयको सहयोगमा पछ्याएको माइती नेपालका पूर्वाञ्चल संयोजक गोविन्द घिमिरेले बताए। उद्धार गरिएका उनीहरुले आफूहरु वैदेशिक रोजगारीका लागि जान लागेको बताएका छन्।

हाल माइती नेपालको पुनस्र्थापना गृहमा राखिएका उनीहरुलाई अनुसन्धान सकिएपछि अभिभावकको जिम्मा लगाइने घिमिरेले जानकारी दिए। कोरोना कहर र बडादसैँका बेला पनि मानव तस्करको गिरोहले नेपाली महिलालाई वैदेशिक रोजगारीको बहानामा अवैध रुपमा विदेश लैजाने गतिविधि गरिरहेको यो घटनाले देखाएको छ।