कमला भट्टराई, झापा / धनकुटाको साँगुरीगढी गाउँपालिका घर भएका दुई महिलालाई प्रहरीले मंगलबार दिउँसो विराटनगरबाट लागुऔषध गाँजासहित पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धनकुटाको साँगुरीगढी गाउँपालिका–९ की ४० वर्षीया सीता राई र साँगुरीगढी–१ की २० वर्षीया वविता राई रहेका छन् । प्रदेश १ प्रहरी कार्यालय विराटनगरबाट खटिएको क्षेत्रीय अनुसन्धान समूह (रिट)को टोलीले उनीहरुले बोकेको ज्रेब्रा झोलाबाट पाँच किलो सात सय ग्राम गाँजा बरामद गरेको छ ।
प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता डीएसपी कवीन्द्र कार्कीले दुवै जनालाई कानुनद्धारा बर्जित लागुऔषधा गाँजासहित विराटनगर महानगरपालिका–४ कञ्चनबारीबाट दिउँसो १ बजेतिर पक्राउ गरिएको जानकारी दिए । उनका अनुसार पक्राउ परेका महिलाहरु सुनसरीको पकलीमा बस्दै आएको खुलेको छ ।
टेम्पोबाट झरेर पैदल हिँडिरहेको अवस्थामा दुवै जनालाई पक्राउ गरिएको हो । उनीहरुलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा बुझाइएको छ । गाँजा कहाँबाट ल्याएको र कहाँसम्म लिएर गएको भन्ने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । प्रहरीले थप अनुसन्धान थालिएको जानकारी दिएको छ ।