हल्दिबारी डटकम
Hover Ad Article
बिचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

“आदरणीय गुरु स्वर्गीय रेवती रमण नेपालमा समर्पित”

 -रमेशकुमार सुवेदी

Advertisement

भावपुर्ण श्रद्धाञ्जली,हजुरको बैकुण्ठ बासहोस !!

Advertisement

मन उथलपुथल भएपछि मस्तिष्कले काम गर्दोरहेन छ।मान्छेलाइ मनले नै नियन्त्रणमा राख्दो रहेछ! नत्र किन मेरो हात,खुट्टा,शरीर सबै कामेका छन् ।मन चिसो भएको छ। न केहि गर्ने आंट,न सोच्न सक्ने क्षमता छ।केवल सुन्यतामा हराएको छ,सबैकुरा,सबै थोक।कुनैपनि कुरा मेरो नियन्त्रणमा छैनन। साच्चै-साच्चैनै म महाकबि देबकोटा झै सुन्यमा सुन्य सरी बिलायेको छु।हराएको छु।आफुलाइ आफै भित्र खोज्दा पाउन सकिराको छैन।अंह,मैले मलाइ जति नियन्त्रणमा राख्न खोजेपनि सकेको छैन।जब मान्छेलाइ कल्पनै नगरेको पिडा पर्छ नि तब यसरी नै अर्ध चेतन अबस्थामा पुगिदो रहेछ।

मेरो(हाम्रो)आदरणीय गुरु रेवती रमण नेपाल सर हामि बिचबाट जानुभो भन्ने खबरले मेरो मस्तिष्क नै हल्ल्याइ दियो।

मेरो गुरु,मलाइ पढाइ-पढाइ आज मलाइ “म”(समाजमा बस्न योग्य) बनाउने आदरणीय सर,हामि बिचमा हुनुहुन्न।उहाका कयौं कुरा अब सम्झनामा मात्र रहने छन् ।शिक्षकको लागी एउटा उपद्राई गर्ने बिद्यार्थीलाइ असल बनाउनु जति कठिन काम अरु के नै पो हुन्छ र। मान्छे जतिनै क्षमतावान भएपनि उसमा आकर्षण छैन भने त्यो क्षमताको के काम?न त्यसले उचित परिणाम दिन्छ,न प्रगति नै गर्छ। इच्छा बिपरितको कार्यले नतिजा खराब नै ल्याउने गर्छ।मेरो हकमा तेतिबेला पढ्नु बिकर्षणको बिषय थियो।

स्कुले जिवनमा म न पढ्न मन पराउने,न कुनै काममा जांगर चलाउने,मलाइ त खेल्न,घुम्न,फिल्म हेर्न,पौडि खेल्न खुबै मनपर्ने।चाडबाडमा लाग्ने मेलामा बन्दुकले फुकुना(बेलुन) फुटाउन,डाइस(लंगुरबुर्जा) र तास खेल्न खुब मन पर्ने। अरुका आंप,लिच्चि त कति खाइयो-खाइयो।

एकदिन राजवंशी काकाले तपाईका खसिबाख्रा तह लगाउनु होस,मेरा गहुँ खाएर हैरान पारे भन्नु भएछ। सर त झसङ्ग हुनुभएछ!मेरा त यहाँ आइपुग्दैन अरुको होला भन्नु भएछ।काकाले दिनमा दुइ चोटि आइपुग्छन,तपाइको खसिबाख्रा,भन्नुभएछ।पछि पो थाहा पाउनु भएछ ति गहुँ खाने खसिबाख्रा त हामी पो रहेछौ। हामीहरु गहुँ चुडेर अलिपर लगेर पोलेर खान्थिउ।जसलाइ स्थानिय भाषामा ओराउनु भनिन्थ्यो।पछि सरले म नै अगुवा हो भन्ने थाहा पाएर मलाइ बोलाएर सम्झाउनु भयो। उपद्रो गर्ने बानि छाड भनेर।म उहाँलाइ नहेरि मुन्टो निहुरियाएर उभिन्थे।अनुहार खुम्चियाउदै ओठ लेप्र्याएर नबोली टाउकाको इशारा ले अब कहिल्यै गर्दिन भन्ने गर्थे। कुरा सुनिसके पछि उहाँलाइ नहेरि दौडेर जान्थे।उहाँका ती आशीर्वचन मेरालागि काम नलाग्ने हुन्थे।मैले कहिले पनि गम्भीर भएर उहाका कुरा सुनिन,सुन्न चाहिन(“सत्य यो लेख्दा मेरा आंखा रसाएका छन”)।मेरा लागि आशीर्वचन भैंसीको अगाडी रामायण सुनाए झै हुन्थ्यो।

अहिले थाहा पाउदैछु अरुले बोलेको बेला मुन्टो बटार्ने,ओठ लेप्र्याउने जस्तो खराब आचरण अरु हुनै सक्दैन भनेर,यस्तो स्वभाव कुनै मान्छेमा छ भने त्यो घातक हुन्छ,आफैलाइ खान्छ।

मेरो उपद्रो गर्ने बानी के हराउथ्यो र। तर पनि उहाले मलाइ बाटामा भेट्दा,स्कुलमा,घरमा जहाँ देखेपनि बोलाइ-बोलाइ सम्झाउनु हुन्थ्यो। हाम्रो घरमा आएर पनि फकाउनु हुन्थ्यो। मैले जे जति उपद्रो गरेपनि नरिसाइकन “तिमि”भन्दै सम्झाउनु हुन्थ्यो।तं भनेको मैले कहिल्यै सुनिन।उसबेला बिद्यार्थी तहलगाउने भनेको सिर्काना(छडी),फिट र पेन्सिललाइ उत्तम उपाएको रुपमा लिइन्थ्यो।छडिले पिटाइ,पेन्सिलले दुई औंलाको बिचमा राखेर दबाउने। तर उहाँले कहिल्यै तेसो गर्नु भएन।सायद पिटेर सुध्रने भए,पिटाइ खाने सबै सुध्रि हाल्थे नि!भन्ने उहाको बुझाइ थियो कि! शान्त भएर मलाइ कयौं पटक सम्झाउने,बुझाउने मात्र गर्नु भयो।उद्देश्य एउटै मात्र मलाइ सुधार्ने उहाँको अठोट।

उहामा सहनशीलता कतिथ्यो,कति।तेत्रो उपद्रो गर्दापनि कहिल्यै हार नमानि नरिसाइकन सम्झाउने गर्नु हुन्थ्यो।

हाम्रा लागि शिक्षकहरुले कति हण्डर खाएर पनि छोराछोरी सरह स्नेह गर्नुहुन्छ,माया दिनुहुन्छ,समाजमा स्थापित गराउन भरमग्दुर प्रयास गर्नुहुन्छ।यो क्षमता आमाबाबु बाहेक अरुमा हुदैन।तेसैले होला उहाँ मेरालागि भगवान हुनुहुन्थ्यो।आदरणीय,सम्माननिय हुनुहुन्थ्यो।बिस्तारै-बिस्तारै उहाको अथक प्रयासले मलाइ छुदै गयो।उहाको बोल्ने सरल शैलीबाट म प्रभावित हुदैगए। सादा जीवन शैली, सरल रहनशहन,हसिलो मुहार,सबैलाइ आफ्नो देख्ने(ठान्ने)उहाँको बानिले मलाइ छोयो।म साच्चिकै “म”हुदै गए।

आफ्नो बिद्यार्थीको क्षमता,बिशेषता,कमजोरी थाहा पाएमा न उसलाइ ठाउँमा ल्याउन सकिन्छ। मेरो हकमा यस्तै भयो।मलाइ यसै भएन उसै भएन भन्दै छाडिदिनु भएको भए मेरो अस्तित्व कहा पुग्थ्यो होला! तर उहाले हार मान्नु भएन।यो मेरालागि उहाँको ठुलो त्याग थियो।त्याग त्यसले दिन सक्छ,जसमा समर्पणको भाव हुन्छ।त्यो मेरो(हाम्रो) आदरणीय गुरुसंग थियो।

मेरो(हाम्रो)गुरुले आफ्नो जीवनभरको कमाइ हाम्रा लागि दिनुभो।रतिभर कुनै दिन मेरो नभनि बिताउनुभो,अरुका लागि त्याग गर्नुभो। बिद्यार्थी(समाजसमेत)लाइ जे जति दिनसक्नु भयो,त्यो अबिस्मरणीय छ,।उहाँको समाज प्रतिको त्याग, समर्पण अजर,अमर रहिरहनेछ।

पुर्ब बिद्यार्थी
श्री हल्दिबारी मा.बि.
हल्दिबारी-२ झापा
हाल-भद्रपुर-७ झापा

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)