काठमाडौँ। नेकपा स्थायी कमिटी सदस्य तथापाण्डे प्रमुख अतिथिको रुपमा आमन्त्रित कार्यक्रममा प्रधानमन्त्री केपी ओली गुटका युवाहरुले कार्यक्रम अवरोध तथा अभद्र व्यबहार गरेका छन्।
चितवनको राप्ती नगरपालिकामा आयोजना गरिएको उक्त कार्यक्रममा अचानक उपस्थित भएका युवाहरुले नेता पाण्डेको विरुद्धमा चर्को नाराबाजी तथा केपी ओलीको विरुद्धमा किन बोलेको भन्दै प्रश्न उठाएका थिए।
नेकपा राप्ती नगरकमिटीले वीरेन्द्रनगरमा गरेको कार्यक्रममा पाण्डेले पार्टीमा देखिएको विवाद समाधानमा पार्टीबाट गठित कार्यदलको भूमिका बारेमा बोलिरहँदा होहल्ला र नाराबाजी भएको थियो। त्यसैगरी राष्ट्रिय युवा संघ नेपाल निर्वाचन कमिटीका सदस्य केदार आचार्यले प्रधानमन्त्रीका विरुद्ध निरन्तर बोल्न थालेपछि हल्ला गरेर बोल्न नदिएको बताए।
यता पार्टीका वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालले विज्ञप्ति जारी गरेर उक्त घटनाको भत्सर्ना गरेका छन्। नेता खनालको विज्ञप्तिमा भनिएको छ, ‘विकास आयोजनाहरूको अनुगमन गर्न र पार्टीका विभिन्न कार्यक्रममा सहभागी जनाउन आफ्नो गृह जिल्ला चितवनमा रहनुभएका पार्टि स्थायी कमिटी सदस्य, पुर्व अर्थमन्त्री तथा प्रतिनिधि सभाका सदस्य क। सुरेन्द्र पाण्डे आज राप्ती नगरको पार्टीको बैठकमा सहभागी भई मन्तव्य राखिरहेको बेला भएको सुनियोजित घटनाले गम्भीर बनाएको छ।
कार्यक्रममा आफ्ना भनाइहरु राखिरहेको अवस्थामा अनाधिकृत रूपमा प्रवेश गरेका केही अराजक व्यक्तिले गरेको अभद्र व्यवहार तथा नाराबाजी अत्यन्तै निन्दनीय छ। यस्तो गैह्र जिम्मेवारपुर्ण घटनाको घोर निन्दा तथा भर्त्सना गर्दछु।
कम्युनिस्ट पार्टीको नैतिक मूल्य, आचरण तथा आदर्श विपरीत यस्तो आपत्तिजनक कार्यमा संलग्न व्यक्तिलाई तत्काल कडा भन्दा कडा कारबाही गर्न सम्बन्धित पार्टी कमिटीको ध्यानाकर्षणबसमेत गराउँछु। पार्टीमा आन्तरिक विवाद उत्कर्शमा पुगेको र त्यसको सही समाधान गर्न उपायहरु खोजी भइरहेको परिस्थितिमा घट्ने यस्ता घटनाहरुले स्थितिलाई झन उत्तेजित बनाउनेतर्फ सचेत रहन सम्पुर्ण नेता र कार्यकर्तालाई विनम्र अनुरोध छ।’
त्यस्तै अर्का नेता नेपालले जारी गरिएको विज्ञप्ति यस्तो छ, ‘गृह जिल्लाका विकास आयोजनाहरूको अनुगमन तथा पार्टीका कार्यक्रमहरूमा सहभागी हुने क्रममा चितवनमा रहनुभएका हाम्रो पार्टीका स्थायी कमिटी सदस्य, पूर्व अर्थमन्त्री तथा प्रतिनिधिसभा सदस्य कमरेड सुरेन्द्र पाण्डे आज राप्ती नगर पार्टीको बैठकमा सहभागी भई मन्तब्य राखिरहेको बेला अनाधिकृत रूपमा प्रवेश गरेका केही ब्यक्तिहरूले सुनुयोजित रूपमा गरेको अभद्र ब्यवहार तथा नाराबाजीको निन्दा एवम् भर्त्सना गर्दछु।
सभ्य, सुसॅस्कृत एवम् समुन्नत समाज निर्माण गर्ने उद्धेश्य बोकेको कम्युनिष्ट आदर्श अबलम्वन गर्ने लोकतान्त्रिक कम्युनिष्ट पार्टीका लागि पटक्कै नसुहाउॅने उक्त कार्य गर्ने र गराउने जो सुकै भएपनि छानविन गरी कडा भन्दा कडा कार्बाही गर्न स्थानीय पार्टी एवम् सम्बन्धित सबैको गंभीर ध्यानाकर्षण गराउॅछु।’
उक्त विषयलाई लिएर विभिन्न टिप्पणी हुन थालेका छन्। केहीले हिटलरको अन्त्यपूर्वको समय भनेका छन्। केही गोयबल्सहरुको ब्यबहार भनेका छन्। अराजकताको पराकाष्ठा भन्नेहरुको कमी पनि छैन। पार्टी केन्द्रमा ओलीको अल्पमत अवस्था पतनको संकेतका रुपमा बुझेका स्थानीय कार्यकर्ताहरुले धैर्यता गुमाएको सहज बुझिन्छ।
बौद्धिकता हरण भएका अराजक र उदण्डकारी समूलाई सत्ताको सत्ताको मात बढी भएको टिप्पणीसमेत भएका छन्। केही समाजिक प्रयोगकर्ताहरुले नेकपाको आन्तरिक विवादपछि देखिएका दृश्यहरुलाई राजनीतिक संस्कार र चेतनाको कमीको रुपमा लिएका छन्। ओलीको बहिर्गमन नभएसम्म नेकपाका ठूला नेताहरुले असुरक्षा महसुस गर्नुपर्ने अवस्था र्सिजना भएको विश्लेषण हुन थालेका छन्।