हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

हिँउदमा शित,बर्षामा पानी, कठैबरा ! बृद्धा असाहय दम्पत्तिको जिन्दगानी (तस्विर सहित)

नरेन्द्र बस्नेत– बेलबारी । चारकोशे जंगलको मुखैमा सानो बाँसको टाँटीले घेरेको घर,मंसिरको जाडोमा त्यहि घरमा छानोका रुपमा लगाईएको जस्तापाताबाट तप्प,तप्प चुहिरहेको शितका थोपा,बाँसको भाटाले बनाईएको सानो खाट,फोहर,थोत्रा र असरल्ल अबस्थामा रहेका केही लुगा,त्यहि लुगामाथि बसेकी मुजा परेको अनुहार,रोगी शरिर भएकी बृद्धा महिला,छेवैमा बसेका उनको स्याहार सुसारमा खटिएका उही हुलिया भएका उनका बिरामी श्रीमान,यस्तो कारुणिक दृश्य देख्दा कस्को मन नभक्कानिएला र ?

Advertisement

हिँउद लागेपछि चिसो सिरेटो र शितले पिरोल्छ भने बर्षामा पानी, न त शरिर ढाक्ने कपडा नै छ,न त खानालाई अन्न र अन्य खाद्य सामाग्री नै,कोही कसैले केही दिए त्यहि खानेकुरा फारो गरेर खानुपर्ने बाध्यता,यहि बाध्यताका बिच जीवन निर्बाह गरिरहेका दम्पत्ति,जस्लाई देख्दा लाग्छ,भगवानले पनि सदै दुःखीलाई मात्र झन दुः ख र पिडा दिँदो रहेछ । सिँचाईका लागि बनाईएका नहरमा बगेको कलकल पानीको आवाज एकनासले आईरहन्छ,त्यहि आवाज सुन्दै बृद्धा असाहाय दम्पत्तिले जीवन गुजारा गरेको झण्डै एक दशक बितिसकेको छ ।

Advertisement

बेलबारी १ नक्सालबारीस्थित नक्साल सामुदायिक बन समुहको जंगल क्षेत्रमा रहेको एउटा सानो झुपडीमा जीवन गुजारा गर्दै आएका ८५ बर्षिया टेकबहादुर मगर र उनकी जीवनसंगिनी अन्दाजी ८० बर्षिया चन्द्रमाया मगर बर्षौदेखि त्यहि झुपडीमा जीवन ब्यतित गरिरहेका छन । मगर करिब ७ बर्ष त्यहि सामुदायिक बनमा काम पनि गरे,तर उमेर ढल्किँदै गएपछि उनले काम गर्न सकेनन,जाने ठाँउ कहिँकतै नभएपछि उनी त्यहि बनको एक छेउमा छाप्रो बनाएर जीवन ब्यतित गर्न थाले ।

मोरङको लेटाङ नगरपालिकास्थित फडानीबाट उनीहरु २०५० सालमा बेलबारी झरेका रहेछन । उनीहरुका ३ छोरा र एक छोरी भएपनि एकजनाको ४० बर्षको उमेरमा र अरुको सानैमा मृत्यु भएपछि उनीहरु एक्लिएका रहेछन । बृद्ध मगरले आफु बसेको भुँईतिर देखाउँदै भने सबै छोराछोरी यहि मुनि रोपेको छु । उनी अलिक भाबुक बने र भने के गर्नु आफुसँग जति छ,त्यति मात्र आफनो हुँदो रहेछ । बल र उमेर हुँदा खेती गरियो,तर अब त केही गर्न सकिन्न,श्रीमतीको जीउ नै चल्दैन,दिशापिसाब एकै ठाँउमा छ,म केही गर्न सक्दिँन,उनले चिम्सा आँखा श्रीमतीतिर घुमाए । श्रीमती केही बोल्न खोजिन् । तर पनि भक्कानिएर बोल्न सकिनन् । मगरले आफनो बिगत सुनाउँदै गए ।

के गर्नु बल र उमेर हुँदा सबै आफन्त,नातागोता,साथीभाई आँउदा रहेछन,यस्तो अबस्थामा कसैले नचिन्दो रहेछ । अहिले हाम्रा न कोही आफन्त छन, न त साथीभाई,जो छन यहि छिमेकी र मनकारी दाताहरु,उनीहरुले दिएको भरमा जीवन चलिरहेको छ । जंगलको मुखैमा घर,जंगली जनावरको डर भन्दा पनि कसरी जीवन यापन गर्ने भन्ने चिन्ताले सधै सताउने मगर बताउँछन ।

बिरामी बृद्धा श्रीमती त्यसमाथि आफुपनि बैशाखीको साहारामा यताउता गर्नुपर्ने सकस,ढुंगाको चुल्होमा बसाएको कराई, त्यत्तिकै थियो,के खानुहुन्छ, भनेर प्रश्न गर्न नपाउँदै उनले भने आज मासु खाने,पल्लाघरको कान्छाले ल्याईदिन्छ । करिब बृद्धा दम्पत्ति सँग दुई घण्टाको बसाईमा न त मासु नै आएको थियो, न त अन्य खानेकुरा नै,उनी आफै खाना पकाएर खाने तयारीमा थिए । तरपनि खानेकुरा नहुँदा उनले केही पकाएर खाना पाएका थिएनन ।

अरुले ल्याईदिएपछि मात्र खाना पाउने बृद्धा दम्पत्तिलाई छिमेकी र केही चिनजानकाहरुले भने खानेकुरा दिँदा रहेछन । उमेरले नेटो काटिसकेपनि दिनरात बिरामी श्रमितीको सेवा र हेरचाहमा खटिएका मगर आफै बिरामी छन । उनीहरुको उपचार र बासको उचित ब्यबस्थापनमा स्थानीय सरकार वा कुनै संघसंस्थाको ध्यान पुगे कति जाति हुन्थ्यो होला ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)