हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ५० मिनेट अगाडि

झापामा फैलिँदै जापानी इन्सेफ्लाइटिस, पाँच लाख नागरिकलाई खोप लगाइने

झापा । झापामा जापानी इन्सेफ्लाइटिस (जेई) अर्थात् मस्तिष्क ज्वरोको संक्रमण र मृत्युदर बढेपछि उच्च सतर्कता अपनाउँदै करिब पाँच लाख नागरिकलाई खोप लगाइने भएको छ।

Advertisement

​स्वास्थ्य कार्यालय झापाका अनुसार जिल्लामा जेई संक्रमित १२ जनामध्ये ६ जनाको मृत्यु भएपछि आगामी असोज ५ गतेदेखि खोप अभियान सञ्चालन गर्न लागिएको हो। अभियानका लागि आवश्यक खोपको भण्डारण तथा व्यवस्थापनको काम सुरु भइसकेको छ।

Advertisement

​अभियानअन्तर्गत जिल्लाका १५ वटै पालिकाका ३० वर्षमाथिका करिब ४ लाख ९३ हजार ३१९ जनालाई खोप लगाउने लक्ष्य राखिएको स्वास्थ्य कार्यालय झापाका प्रमुख ब्रिजकुमार दासले जानकारी दिए।

​सबैभन्दा बढी संक्रमित मेचीनगर नगरपालिकामा देखिएकाले खोप अभियान सोही नगरबाट सुरु गरिनेछ। असोज १९ गतेसम्म सञ्चालन हुने यस अभियानअन्तर्गत एउटा स्थानीय तहमा बढीमा सात दिन खोप सेवा सञ्चालन हुनेछ।

​खोप कार्यक्रमका लागि प्रत्येक वडामा खोप केन्द्र स्थापना गरी महिला स्वास्थ्य स्वयंसेविका तथा खोपकर्मी खटाइनेछ। स्वास्थ्य प्रमुख दासका अनुसार २०६४ सालमा १५ वर्षसम्मका बालबालिकालाई यो खोप दिइएको थियो। बालबालिकाले नियमित खोपमार्फत नै जेईविरुद्धको खोप पाइरहेकाले यसपटक ३० वर्षभन्दा माथि उमेर समूहलाई लक्षित गरिएको हो।

​सामान्यतया जापानी इन्सेफ्लाइटिसबाट बालबालिका बढी प्रभावित हुने गरे पनि पछिल्लो समय ५० वर्षभन्दा माथिका दीर्घरोगीमा संक्रमण र मृत्युदर बढी देखिएको छ।

​झापामा भदौ २१ गतेसम्म अतिशीघ्र इन्सेफ्लाइटिस सिन्ड्रोमका ९५ केस परीक्षण गर्दा १२ जनामा जेई पुष्टि भएको थियो। संक्रमितमध्ये मेचीनगरका दुई, बिर्तामोडका एक तथा बाह्रदशी, अर्जुनधारा र हल्दीबारीका एक-एक गरी ६ जनाको मृत्यु भइसकेको छ।

​कोशी प्रदेशका १४ जिल्लामध्ये झापा जापानी इन्सेफ्लाइटिसको उच्च जोखिममा छ। जिल्लामा सन् २०२४ मा दुई, २०२५ मा तीन र २०२६ मा ६ गरी ११ जनाको यस संक्रमणबाट मृत्यु भइसकेको स्वास्थ्य कार्यालयको तथ्यांक छ।

​जापानी इन्सेफ्लाइटिस संक्रमित लामखुट्टेको टोकाइबाट मानिसमा सर्छ। धानखेत तथा ढल-फोहोरमा पाइने लामखुट्टेले सुँगुर, हाँस, कुखुरा र बकुल्लाजस्ता पशुपन्छीबाट भाइरस लिएर मानिसमा सार्ने गर्छन्।

​संक्रमणको जोखिम न्यूनीकरण गर्न लामखुट्टेको टोकाइबाट बच्न, घरवरिपरी सरसफाइ राख्न र खोप अभियानमा सक्रिय सहभागी हुन झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले आग्रह गरेका छन्।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)