हल्दिबारी न्यूज डेक्स- हिउँद लागेपछि मंगोलियाबाट ‘कमन क्रेन’ चराको एउटा हूल वर्षौंदेखि चितवनको दिव्यनगर फाँटमा आइरहेको छ । ‘नेपालको अन्यत्र खासै देखिँदैन ।

यो चरा मंगोलियाबाट हजारौं किलोमिटर दूरी पार गरेर अग्ला हिमशृंखला नाघेर चितवनको दिव्यनगर फाँटमा भने वर्षौंदेखि आइरहेको छ,’ चितवनको सौराहामा मुख्य कार्यालय रहेको चरा संरक्षणसम्बन्धी काम गर्ने संस्था बर्ड एजुकेसन सोसाइटीका अध्यक्ष रमेश चौधरीले भन्नुभयो । चराको समूहलाई मंगोलियादेखि चितवनसम्म तान्ने मुख्य माध्यम धान फल्ने फाँट हो । कमन क्रेन अर्थात् लक्ष्मण सारसलाई हामी धेरैले ‘कर्याङ्कुरुङ’ भन्दा चिन्छौं । हो, तिनै कर्याङकुरुङ मंगोलियादेखि चितवनसम्म आइपुग्छन् ।

चितवनमा आएर उनीहरू बस्ने भनेको पश्चिम चितवनको नारायणी नदीकिनार नजिक दिव्यनगरमा हो । चराविद् हेमसागर बराल पहिले पहिले कोसी नदी आडको सप्तरी, सिरहा र कर्णाली नदी आसपासको कैलाली, बर्दियाका गाउँमा कर्याङकुरुङ देखिने बताउनुभयो। धानबाली र सिमसार जोगिएका कारण दिव्यनगरलाई कर्याङकुरुङले लगातार रोजी राखेको उहाँले बताउनुभयो । अन्यत्र धानखेत कम हुँदै, सिमसार मासिँदै गएपछि कर्याङकुरुङ आउन छाडे । चराविद् बरालका अनुसार कर्याङकुरुङ मंगोलियामा बच्चा कोरल्ने र हुर्काउने गर्दागर्दै त्यहाँ जाडो बढ्छ ।
जमिन पूरै हिउँले ढाक्छ । त्यसैले कर्याङकुरुङ खानाको खोजीमा दक्षिण लाग्छन् । उनीहरूको ठूलो समूह भारतको गुजरात र राजस्थान पुग्छ । सानो समूह नेपालमा अडिन्छ । आहारा भेटिए यो चरा धेरै संख्यामा नेपालमा अझै धेरै आउने सम्भावना छ।