– डि पि मध्यमार्गी
नेपाल आमा भन्छिन् -नेपालबाट यमराजले राजिनामा दिँदै छन् !
अबको मृत्युदायक को त?
मेरो प्रश्न खस्नै पाउँदैन,
भन्छिन् आमा,मेरो कोखबाट अर्को कालको जन्म हुँदै छ।
म चित खान्छु,
झूटो कुरा नगर न आमा!
हो,अब त्यही कालले नयाँ सृष्टि गर्छ।
कस्तो सृष्टि ?
नयाँ व्यवस्था,म अवाक्!
आमा भन्दै जान्छिन्
अब यो देशमा कसैले पनि मेरो चोक्टा खाने छैनन्,
कोही पनि,राष्ट्रपति, मन्त्री वा सांसद हुनेछैनन्,
बलात्कारी,भ्रष्ट र शोषक कोही हुनेछैनन्।
संविधानको अपव्याख्या,
मुलुकी ऐनको खिलाफ,
अपराध संहिताको धज्जी,
समस्त ऐन,कानुन,नियमावली,निर्देशिका,कार्यविधिको ढाकछोप हुनेछैन
किनकी मेरो अबको सन्तानको नाम काल हुनेछ ।
कानुन नभएको देश हुन्छ र आमा?
हो,हुन्छ तर प्रत्येक कानुन मृत्युसँग जोडिन्छ
जुन लेखिनै पर्दैन,पास हुनु पर्दैन,लालमोहोर लाग्नु पर्दैन,
स्वत:लागू हुन्छ।
एक अपराध=एक मृत्यु!
एक मानिसको दुईओटा मृत्यु हुन्छ र?
हो,हुँदैन ,म भन्छु।
आमाले बुझाउन खोजिन्
हो,हृदयमा कानुन लेखियो भने कागज किन चाहियो?
आमाको पेटतिर हेर्छु,डम्म देख्छु।
गर्भिणी छिन्,तरखरमा छ काल जन्मिन
तर जिज्ञासा शमन नहुँदा पुन: प्रश्न गर्छु,
आमा! तिमी हत्यारालाई किन जन्माउँछौ?
मेरो आवश्यकता ।प्रत्युत्तर छ।
किन?
मेरो श्री नलुटिएको भए,
मेरै छोराले मेरो बलात्कार नगरेको भए
सायद देउता पनि जन्माउँथेँ होला ,
स्वर्ग सृष्टि गरी भूस्वर्ग बनाउँथेँ होला
तर अफसोस म बाध्य छु।
अब के हुन्छ आमा?
बोल्दा बोल्दै व्यथा सुरु हुन्छ।
भन्छिन् मलाई नछो,
तैँले हजारौँ कुकृत्य गरेको छस्,
तँजस्तै करोडौँ कुकर्मीहरू मेरै काख वरिपरि छन्
त्यसैले,छोडिदे एक्लै मलाई ,यो बच्चा सहजै जन्मिनेछ।
काल जन्मिनासाथ
यमराजले मेरो देशका लागि राजिनामा दिनेछन्
अनि रामराज्य हुन बेर लाग्दैन तब कानुन स्थापित हुन्छ
एक कसुर – एक मृत्यु
बस्,एक कसुर – एक मृत्यु ।।
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
+1
+1
+1
+1
+1