नेकपा प्रचण्ड–माधव समूहका स्थायी कमिटी सदस्य योगेश भट्टराईले पूर्वराजा ज्ञानेन्द्र र प्रधानमन्त्री केपी ओली भोलि एउटै पार्टीको अध्यक्ष भए पनि कुनै अनौठो मान्नु नपर्ने बताएका छन् । पूर्वीनवलपरासीको कावासोतीमा आफूनिकट युवा तथा विद्यार्थीहरूको जिल्लास्तरीय भेला तथा प्रशिक्षणलाई सम्बोधन गर्र्दै भट्टराईले ओलीको पछिल्लो साँठगाँठ र गतिविधि शंकास्पद रहेको बताएका हुन् ।
भट्टराईले अझै पार्टी एकताको सम्भावना कायमै रहेकोमा जोड दिँदै पद र व्यक्तिवादी चरित्रलाई भन्दा तीन करोड नेपालीको सपनालाई ध्यान दिएर पार्टी एकता हुन कुनै समस्या नरहने बताए । नेपाली जनताले आफ्नो सपना पूरा गर्ने कम्युनिस्ट पार्टीलाई झन्डै दुईतिहाइ बहुमत दिएको जिकिर गर्दै भट्टराईले प्रधानमन्त्री ओली आफ्नै कारणले समस्यामा परेको बताए । उनले भने– ‘नारायणहिटीअगाडिको भेला कुनै उत्सव होइन, त्यो मलामीहरूको भेला हो, त्यसको अगुवाइ प्रधानमन्त्री ओलीले गरिरहेका थिए ।’
नारायणहिटीअगाडिको प्रदर्शनमा सरकारले शक्तिको दुरुपयोग गरेको उनको आरोप छ । भट्टराईले सर्वोच्चले संसद् पुनस्र्थापना गर्नुपर्ने र निर्वाचन आयोगले नेकपाको केन्द्रीय कमिटीको बहुमत सदस्यताका आधारमा पार्टीको आधिकारिता र सूर्य चुनाव चिह्न दिनुपर्नेमा जोड दिए ।
कार्यक्रममा युवा संघका केन्द्रीय अध्यक्ष रामप्रसाद सापकोटा दीपशिखा, अनेरास्ववियुका केन्द्रीय सहसंयोजक रञ्जित तामाङलगायतले ओलीको प्रतिगामी कदमको विरुद्ध सशक्त रूपमा लाग्नुपर्नेमा जोड दिएका थिए ।