नेपाल कम्युनिष्ट पार्टी ओली समूहका नेता सुवास नेम्वाङले संसद पुनस्स्थापना पछि सरकार झन् बलियो भएको बताएका छन् । नेकपा ओली समूह निकट सिन्धुपाल्चोक–काठमाण्डौ सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेम्वाङले संसद विघटन हुँदा काम चलाउ भएका प्रधानमन्त्री ओली पुनःस्थापनापछि दह्रो भएको बताए ।
उनले प्रतिनिधिसभा विघटन भएपछि सरकारलाई काम चलाउ भन्नेहरुलाई अहिले सरकार दह्रो हुँदा अप्ठ्यारो परेको टिप्पणी समेत गरे । प्रतिनिधिसभा पुनस्स्थापना हुनुभन्दा अगाडि प्रधानमन्त्री ओलीले जनतामा जाने आफ्नो निर्णय लोकतन्त्रसम्मत भएको बताउने गरेको समेत नेम्वाङले बताए । तर उनले अहिले पुनःस्थापित भएपछि फेरि संसदमा फर्किएकाले चिन्ता गर्नुपर्ने कुनै कुरा नभएको पनि प्रष्ट पारे ।
प्रतिनिधि सभा पुनस्स्थापना भएपछि अविश्वासको प्रस्ताव ल्याउने हल्ला सुनिएको भन्दै नेता नेम्वाङले सरकारले प्रस्तावको सामना गर्ने बताए । अविश्वास प्रस्ताव फेल भएमा सरकार फेरि एक वर्ष चल्न पाउने व्यवस्थाले विपक्षीहरुलाई प्रस्ताव ल्याउन नै डर लागेको पनि नेता नेम्वाङले बताए ।
नेता नेम्वाङले कानुनी रुपमा नेकपा विभाजन भइनसकेको पनि बताए। अहिले पनि पहिलो अध्यक्ष केपी ओली र दोस्रो अध्यक्ष प्रचण्ड कायम नै रहेको पनि नेता नेम्वाङले बताए । पार्टी एकीकृत भएपछि निर्वाचन आयोगलाई दिएको कागजमा नै पहिलो अध्यक्ष ओली र दोस्रो अध्यक्ष प्रचण्ड भनेर लेखिएको टिप्पणीसमेत गरे ।