हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

केराबारीमा महिलालाई नशालु पदार्थ सुँघाएर घरमा लुटपाट

हल्दिबारी न्यूज डेक्स- चन्द्रगढी । महिलालाई नियन्त्रणमा लिँदै नशालु पदार्थ सुँघाएर मोरङको केराबारीको एउटा घरमा शुक्रबार मध्यरातमा लुटपाट गरिएको छ । केराबारी गाउँपालिका–७ चौबिसेस्थित गणेशबहादुर विकको घरमा भएको नगद र सुनको सिक्री लुटिएको हो ।

Advertisement

घटना भएको रात गणेशबहादुर भने काम विशेषले केराबारीकै पाटी गाउँमा पुगेका थिए । घरमा रहेकी उनकी श्रीमती उर्मिला विकलाई नशालु पदार्थ सुँघाएर बेहोस बनाउँदै घरभित्र लुटपाट मच्चाएको पाइएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताए । घरमा ११ र १३ वर्षका दुई नाबालक छोराछोरीसहित उर्मिला मात्रै बसेको अवस्थामा घटना भएको वडा अध्यक्ष नारायणप्रसाद चेम्जोङ लिम्बूको भनाइ छ ।

Advertisement

उनका अनुसार छोराछोरीसँग सुतिरहेका बेला घरमा पालेको भैँसीको पाडो बाँधेको ठाउँबाट खुस्किएको हुनसक्ने ठानेर राति ११ बजे घरको ढोका खोलेर उर्मिला बाहिर निस्कन खोजेकी थिइन् । तर ढोकाबाट बाहिर निस्कन नपाउँदै मास्क लगाएर आएका अपरिचित दुई जना नकापधारी युवाले नियन्त्रणमा लिई नशालु पदार्थ सुँघाउँदै उनलाई बेहोस बनाएर घरभित्र पसी लुटपाट मच्चाएको वडा अध्यक्ष लिम्बूको भनाइ छ ।

घरभित्र रहेको ४० हजार रुपैयाँ नगद र एक तोलको सुनको सिक्री लुटेर लगेको पाइएको प्रहरीले जनाएको छ । भतिज द्रोण विकले सापटीवापत लगेको उक्त पैसा उर्मिलालाई दुई दिनअघि मात्रै फिर्ता दिएका हुन् । द्रोणले केही दिनअघि ४५ हजार रुपैयाँ सापटी लगेका थिए । तर फिर्ता गरेपछि पाँच हजार खर्च भएको र बाँकी ४० हजार घरमै राखिएको अवस्थामा लुटिएको पुष्टि भएको प्रहरीले जनाएको छ ।

‘मध्यरातमा घरको ढोकाबाट बाहिर निस्कन खोज्दा घाँटीमा समाउँदै नशालु पदार्थ सुँघाएपछि महिला बेहोस बनिछन्,’ प्रहरी स्रोतले भन्यो, ‘त्यसपछि दुई जना घरभित्र पसेर नगद र सुनको सिक्री लिएर फरार बनेको पाइयो ।’ शनिबार बिहानसम्म सामान्य अवस्थामा रहेकी उर्मिलाले प्रहरीलाई घटनाका बारेमा जानकारी दिएकी थिइन् । तर शनिबार दिउँसो उनी अचानक बेहोस बनेकी छन् ।

उनले आफू होसमा आउँदा घरभित्र रहेको नगद र सुनको सिक्री लुटिएको अवस्थामा पाएको प्रहरीलाई बताएकी थिइन् । घटनापछि डराएर र आत्तिएर पुनः बेहोस बनेपछि स्थानीय स्वास्थ्य संस्थाले उपचार सम्भव नहुने जानकारी दिएर उनलाई थप उपचारका लागि सुविधा सम्पन्न अस्पतालमा रेफर गरेको जानकारी वडा अध्यक्ष लिम्बूले दिए । महिलामाथि कुनै कुटपिट र आक्रमण भने नभएको प्रहरीको भनाइ छ ।

घटनामा संलग्नको पहिचान हुन सकिरहेको छैन । एसपी खड्काले लुटेरा समूहको खोजी थालेर घटनाका बारेमा थप अनुसन्धान अघि बढाइएको जानकारी दिए ।-कमला भट्टराई

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)