इराकसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल ६–२ गोल अन्तरले पराजित भएको छ । इराकको बास्रामा नेपालले सुरुवातमा राम्रो प्रदर्शन गरे पनि त्यसलाई टिकाइराख्न सकेन । इराकले खेलको सातौं मिनेटमा नै अग्रता बनाएको थियो ।
इराकका आला अब्दुलले गरेको फ्रिकिक सोझै गोलमा परिणत भएको थियो । तर नेपालले खेलको आठौं मिनेटमा गोल गर्दै खेल बराबरीमा पुर्याएको थियो । नेपालका लागि अञ्जन विष्टले प्रहार गरेको बल क्लियर गर्ने क्रममा इराकका अहमद इब्राहिम खलाफले आत्मघाती गोल गरेका थिए । नेपालले पहिलो हाफमा ४ र दोस्रो हाफमा २ गोल ब्यहोरेको हो ।
नेपालले २९ औं मिनेटमा अर्को गोल गरे पनि रक्षापङ्क्तिको कमजोरीका कारण जित निकाल्न सकेन। फिफा वरीयतामा इराक नेपाल भन्दा १ सय ३ औं स्थान माथि रहेको छ । इराक ६८ औं स्थानमा छ भने नेपाल १ सय ७१ औं स्थानमा ।
नेपालको यही टोलीले विश्वकप छनोटका बाँकी ३ खेल पनि खेल्नेछ । अब नेपालले जुन ३ मा ताइपे, जुन ७ मा जोर्डन र जुन ११ मा अष्ट्रेलियासँग खेल्नेछ ।इराकसँगको मैत्रीपूर्ण खेलपछि नेपाली टोली कुवेत जानेछ ।

















