– गोविन्द सिंह रावत हाल : क्यानाडा
गृहस्थीको दिनचर्या
केहीबेर अन्त थन्काएर
काम कर्तव्यलाई तगारो लगाएर
मुटुलाई दाम्पत्यको पर्खालबाट बाहिर निकालेर
यो मन
तिमीलाई फेरी हस्तान्तरण गर्न मन लागेको छ
आज फेरी मलाई प्रेम गर्न मन लागेको छ
आफ्नो अतीतलाई
रिवाइण्ड गरी पुनः प्ले गर्दै
फेरी एकपटक गोदावरीमा डुल्न मन लागेको छ
चउरमा बसेर तिम्रा केस्राहरुलाई औंलामा अल्झाएर
जीवनको अंकगणित मिलाउन मन लागेको छ
आज फेरी मलाई प्रेम गर्न मन लागेको छ
उमेरको भ¥याङ्गबाट केही तल ओर्लेर
तीन घण्टा चलचित्र मन्दिरभित्र
एकहातले बदाम छोडाउँदै खुवाउँदै
अर्को हात समातेर दिन बिताउन मन लागेको छ
अनि चलचित्र भित्रको चलखेललाई विर्सेर
तिमीमा रमरमाउँदै रङ्गीन हुन लागेको छ
आज फेरी मलाई प्रेम गर्न मन लागेको छ
घरमा सधै हुने नुनतेलको दैनिकी पञ्छाएर
छोराछोरीको टिफिन र ट्युसनलाई चटक्क विर्सेर
घर कार्यालय बजार र समाजबाट अवकास लिएर
एकपटक फेरी अतीतलाई ब्युताउन मन लागेको छ
आज फेरी मलाई प्रेम गर्न मन लागेको छ
किमार्थ ढाटेको हैन
जसरी पनि समय उबार गृहस्थीलाई थान्को लगाएर
प्रेमीका बनेर आऊ छोराछोरीलाई स्कूल पठाएर
मैले पनि बिदा लिई सके आफैलाई विरामी बनाएर
आऊ न प्रिये आऊ मेरो आलिङ्गनमा केैदी बनेर
फेरी एउटै कुल्फीमा पालैपालो बरफ खान मन लागेको छ
आज फेरी मलाई प्रेम गर्न मन लागेको छ
खै किन हो किन साठी नागेछ क्यारे
जुँघेरेखी बस्दाको प्रेम फेरी जागेछ क्यारे
फुलेको केस र अहिलेको भेषलाई विर्सेर आऊ
तिमीले भन्दै जाऊ म मान्दै जान्छु पहिले जस्तै
अनि गुनासो गर्ने छौनौं तिमीले म बदलिए भनेर
त्यसैले भन्या प्रेम दिवस मनाउन
फेरी एकपटक अतीतलाई निम्ताएर रमरमाउन मन लागेको छ
आज फेरी मलाई प्रेम गर्न मन लागेको छ