समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

८ लाख ४ हजार १ सय ९९ विद्यार्थी कहाँ हराए ? सरकार र दलहरुले जवाफ दिनुपर्छ

एसईई परीक्षाको नतिजा सार्वजनिक भएपछि सबैले सबैलाई बधाई दिने क्रम सामाजिक सञ्जालमा बढेको छ । तर, एउटा राजनीतिक दल यस्तो पनि रहेछ जसले बधाई दिनु भन्दा पनि ८ लाख ४ हजार १ सय ९९ जना विद्यार्थी हराएको भन्दै चिन्ता व्यक्त गरेको छ ।

सो पार्टीले आज एक विज्ञप्ति जारी गर्दै यो वर्ष एसईईको नतिजा निस्किएका विद्यार्थीहरु २०६९ सालमा विद्यालय भर्ना भएर २०६८ सालमा एसईई परीक्षामा सामेल भई यो साल रिजल्ट निस्किएकोमा ८ लाख ४ हजार १ सय ९९ जना विद्याथी बिचैमा हराएको बताएको छ । र, ती विद्यार्थीको बारेमा सरकार र हालसम्मका सरकार र संसदमा रहेका सबै दलहरुले उनीहरुको भाग्य भविष्यको बारेमा जिम्मेवारी लिएर जवाफ दिनुपर्ने माग गरेको छ ।

सबै राजनीतिक दलहरुले आफ्नो पार्टीको फाइदा र राजनीतिक विषयहरुमा मात्र बेलाबेलामा प्रेस विज्ञप्ति निकाल्ने गरेकोमा जनताको वास्तविक अवस्थाको बारेमा आफ्नो चासो र चिन्ता राख्ने त्यो पार्टी हो उन्नत लोकतन्त्र पार्टी । सो पार्टीले निक्कै भावुक बनाउने तथ्य सार्वजनिक गर्दै दुःखी गरिब जनताका विद्यालय पढ्नै नपाउने, भर्ना भए पनि गरिबीको कारणले वीचैमा पढाइ छोड्न बाध्य हुनु पर्ने अवस्थाको तथ्यगत रुपमा रुन मन लाग्ने अवस्था सार्वजनिक गरेको छ ।

पार्टी अध्यक्ष तथा चर्चित अधिवक्ता एवम् लामो समय पत्रकारितामा रहेका स्वागत नेपालले विज्ञप्तिमा भनेका छन् यो पटक एसईई परीक्षामा सफल भएका विद्यार्थीहरु २०६८ सालमा १ कक्षामा भर्ना भएका हुन् । त्यो साल देशभर १ कक्षामा भर्ना हुने विद्यार्थीको संख्या १२ लाख ७६ हजार २ सय ४० रहेको थियो । गरिबीको कारणले भर्ना हुनै नपाउने बालबालिको संख्या त्यसको दोब्बरभन्दा बढी थियो । तर २०६८ सालमा भर्ना भएका १२ लाख ७६ हजार २ सय ४० जना विद्यार्थीमध्ये ४ लाख, ९४ हजार ६ सय ८१ जना विद्यार्थी मात्र कक्षा १० सम्म पढ्न सके र एसईईको परीक्षाको फारम भर्न सके २२ हजार ६४०जनाले त फारम भरेर पनि परीक्षामा आफ्नो पेट पाल्न लगायतका बाध्यताले परीक्षा दिन पाएनन् । अर्थात् जम्मा ८ लाख ४ हजार १ सय ९९ जना विद्यार्थी वीचैमा हराए । उनीहरुको बारेमा राज्यले फेरि कहिल्यै सोचेन । किन उनीहरुले वीचैमा पढाइ छोड्नु पर्यो भनेर देशको अभिभावक अर्थात् सरकारले कुनै चासो दिएन ।

यो दुःखलाग्दो राज्यको चित्र विज्ञप्तिमा देख्दा साँच्चै देशका छोराछोरीहरुको बारेमा सोच्ने यो देशमा कुनै सरकार छैन । उनीहरु जसले १ कक्षा भर्ना भएर एसईईको परीक्षामा सामेलसम्म हुन पाएनन् ती विद्यार्थीहरुले अहिले एसईईको परीक्षामा राम्रो नम्बर पास ल्याएर पास भएकोमा फेसबुक र ट्विटरमा बधाईका तस्वीरहरु देख्दा आफूले पढ्न नपाएकोमा एक्लै आफ्नो घाँटी आफ्नै हातले च्यापेर बाहिर आवाज ननिकालीकन रोइरहेका होलान् भन्ने प्रश्न गर्दै अध्यक्ष नेपालले परीक्षामा पास हुने सबै विद्यार्थीहरुलाई बधाई भन्दै अब ती पढ्न नपाई वीचैमा पढाइ छोडेका आफ्ना साथीहरुका लागि पढेर असल नागरिक बनेर उनीहरुलाई सहयोग पुग्ने कामहरु गर्न शुभकामना पनि दिएका छन् ।

विज्ञप्तिमा उन्नत लोकतन्त्र पार्टीले स्वास्थ्य शिक्षा र आवास समेत निःशुल्क उपलब्ध गराउन सक्ने योजना र कार्यक्रमहरु आफूहरुजस्ता नयाँ पुस्ताका नागरिकहरुसँग भएको पनि बताएको छ ।
साथै उनले वीचवीचमा नेताहरुले पढ्न नसक्ने विद्यार्थीको अभिभावकत्व ग्रहण गर्ने कार्यक्रम ल्याएर जनतालाई झुक्यानमा मात्र पारेकोमा समेत यो एसईई परीक्षको परिणामका बेलामा हालसम्म सरकार र संसदमा रहेका सबै दलहरुलाई ती बालबालिकाहरुसँग सार्वजनिक रुपमा माफी माग्न समेत भनेका छन् ।

प्रेस विज्ञप्ति जस्ताको तस्तै …
८ लाख ४ हजार १ सय ९९ विद्यार्थी कहाँ हराए ? सरकार र दलहरुले जवाफ दिनुपर्छ
एसईई परीक्षाको नतिजा सार्वजनिक भएपछि सबैले उत्तीर्ण विद्यार्थीहरुलाई बधाई दिने क्रम सामाजिक सञ्जालमा बढेको छ । तर, यो वर्ष एसईई परीक्षाको नतिजा प्राप्त गरेका विद्यार्थीहरु २०६८ सालमा विद्यालय भर्ना भएर २०७८ सालमा एसईई परीक्षामा सामेल भई नतिजा प्राप्त गरेका हुन् । त्यो साल देशभर १ कक्षामा भर्ना हुने विद्यार्थीको संख्या १२ लाख ७६ हजार २ सय ४० रहेको थियो । गरिबीको कारणले भर्ना हुनै नपाउने बालबालिको संख्या झण्डै दोब्बर बढी थियो । तर २०६८ सालमा भर्ना भएका १२ लाख ७६ हजार २ सय ४० जना विद्यार्थीमध्ये ४ लाख, ९४ हजार ६ सय ८१ जना विद्यार्थीले मात्र कक्षा १० सम्म पढ्न सके र एसईईको परीक्षाको फारम भर्न सके भने २२ हजार ६सय ४०जनाले त फारम भरेर पनि परीक्षामा आफ्नो पेट पाल्नु पर्ने बाध्यता समेतका कारण सामेल हुन सकेनन् । अर्थात् जम्मा ८ लाख ४ हजार १ सय ९९ जना विद्यार्थी वीचैमा हराए । उनीहरुको बारेमा राज्यले फेरि कहिल्यै सोचेन । किन उनीहरुले वीचैमा पढाइ छोड्नु पर्यो भनेर देशको अभिभावक अर्थात् सरकारले कुनै चासो दिएन । ती विद्यार्थीको बारेमा हालसम्मका सरकार र संसदमा रहेका सबै दलहरुले उनीहरुको भाग्य भविष्यको बारेमा जिम्मेवारी लिएर जवाफ दिनुपर्छ । यो अवस्थाका कारण उन्नत लोकतन्त्र पार्टी गहिरो दुःख व्यक्त गर्दछ ।

यो दुःखलाग्दो राज्यको चित्र देख्दा साँच्चै देशका छोराछोरीहरुको बारेमा सोच्ने यो देशमा कुनै सरकार नै छैन । उनीहरु जसले १ कक्षामा भर्ना भएर एसईईको परीक्षामा सामेलसम्म हुन पाएनन् ती विद्यार्थीहरुले अहिले एसईईको परीक्षामा राम्रो नम्बर ल्याएर आफ्ना साथीहरु पास भएको सामाजिक सञ्जालहरुमा बधाईका तस्वीरहरु देख्दा आफूले पढ्न नपाएकोमा एक्लै आफ्नो घाँटी आफ्नै हातले च्यापेर बाहिर आवाज ननिकालीकन रोइरहेका होलान् हैन र बधाई पाउने सफल नानीबाबुहरु ? हजुरहरु सबैलाई बधाई छ । हजुरहरु उत्तीर्ण हुनु भएकोमा हामी अति खुसी छौं । तर अब परीक्षामा सबै श्रेणी ल्याएर पास हुने हजुरहरु सबै विद्यार्थीहरुले ती पढ्न नपाई वीचैमा पढाइ छोडेका आफ्ना साथीहरुका लागि अझै धेरै पढेर असल नागरिक बनेर उनीहरुलाई सहयोग पुग्ने कामहरु गर्न हामी शुभकामना दिन्छौं ल !

यस उन्नत लोकतन्त्र पार्टीले स्वास्थ्य शिक्षा र आवास समेत निःशुल्क उपलब्ध गराउन सक्ने योजना र कार्यक्रमहरु नयाँ पुस्ताका साथीहरुको नेतृत्वमा अगाडि ल्याएको छ । यो सम्भव छ । असम्भव मूर्खहरुका लागि मात्र हुन्छ । आफ्ना जनताका छोराछोरी विद्यालय भर्ना भएर पनि गरिबीका कारण विद्यालय जान नपाएको थाहा नपाउने र चासो नराख्ने पुराना पुस्ताका दल, नेता र सरकारहरुबाट जनताका त्यस्ता सपनाहरु कहिल्यै पूरा हुन सक्तैनन् ।

ती पूराना नेताहरुले पढ्न नसक्ने विद्यार्थीको अभिभावकत्व ग्रहण गर्ने कार्यक्रम ल्याएर जनतालाई झुक्यानमा मात्र पारे । ती विद्यार्थीहरु पनि वीचैमा पढाइ छोड्न बाध्य भएर एसईईको परीक्षामा सामेल हुन सकेनन् । यो एसईई परीक्षको परिणामका बेलामा हालसम्म सरकार र संसदमा रहेका सबै दलहरुलाई ती बालबालिकाहरुसँग सार्वजनिक रुपमा माफी माग्न समेत हामी अनुरोध गर्दछौं ।
अन्त्यमा पास भएका सबै विद्यार्थीहरुलाई पढ्न नसकेका आफ्ना साथीहरुका लागि भविष्यमा राम्रो काम गर्ने क्षमता र ज्ञान मिलोस् भन्ने फेरि पनि शुभकामना दिन चाहन्छौं ।
अध्यक्ष स्वागत नेपाल मिति २०७९/४/१२

khullakitaab

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)