समाचार
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

भद्रपुरमा ८० राउन्ड पेस्तोलको गोली राख्ने अभियुक्तलाई तारेखमा छाडियो

हल्दिबारी, २५ श्रावण। भद्रपुरमा शृंखलाबद्ध चोरी गर्नेको घरबाट ८० राउन्ड गोली बरामद भएको अभियुक्तलाई झापा जिल्ला अदालत भद्रपुरले छाडिदिएको छ। अदालतले घटनामा संलग्न दुईजना अभियुक्तलाई त्यतिकै छाडिदिएपछि अहिले सामाजिक सञ्जालमा त्यस बारेमा व्यापक आलोचना भइरहेको छ।

Advertisement

वडा प्रहरी कार्यालय भद्रपुर र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले गत असार २८ गते चोरी गर्नेको घरबाट ८० राउन्ड पेस्तोलमा लाग्ने गोली, एउटा मोबाइल, २७ थान मोबाइल चार्जर, सटर फुटाउन प्रयोग गर्ने रड र पसल फुटाएर घरमा जम्मा गरेका तालाहरू बरामद गरेको थियो।

Advertisement

घटनामा संलग्न भद्रपुर नगरपालिका–५ देवीवस्तीका मोहम्मद प्यारे र सोही ठाउँका वरुण सहनीलाई पक्राउ गरेको थियो। पक्राउ परेका दुबै जनालाई प्रहरी कार्यालय झापाले जाहेरीको आधारमा चोरी, हातहतियार तथा खरखजनासम्बन्धी दुईवटा मुद्दा दर्ता गराई जिल्ला सरकारी वकिल कार्यालयमा पेस गरेको थियो।

सरकारी वकिल कार्यालयले साउन १६ गते अदालतमा मुद्दा दर्ता गराएका थिए। त्यसपछि न्यायाधीश टीकाराम आचार्यले अभियुक्त दुई जनासँग बयान लिएका थिए। बयानपछि न्यायाधीश आचार्यले थुनछेक आदेशको क्रममा एक जनाको उमेर १४ वर्ष र अर्काको १७ वर्ष भएकोले बाल सुधार गृह पठाउनुको सट्टा परिवारजनलाई जिम्मा लगाइदिएको छ। अदालतले दुबै जनालाई साधारण तारेखमा रिहा गरेको हो। मुद्दाको अन्तिम आदेश आउन चाहिँ बाकी छ।

सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवत्ता प्रकाश गौतमले अदालतमा मुद्दा दर्ता भई पेशी सूचीमा चढिसकेको बताए। ‘दुबै प्रतिवादी बालक भएकोले अदालतले साधारण तारेखमा छाडिएको हुनुपर्छ, थुनछेकको आदेश हेर्न चाहिँ बाँकी छ’, उनले भने।

यता जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले दुवै जनालाई चोरी, हातहतियार तथा खरखजना मुद्दा लगाएको बताए। अदालतले घटनाको प्रकृति हेरेर बाल सुधार गृह विराटनगर पठाउनु पर्नेमा तारेखमा छाडिएको बताउँदै डीएसपी पाठकले भने, ‘बालक भएपनि बाल सुधार गृह पठाउन मिल्छ, अदालतले किन यस्तो आदेश गर्‍यो हामी नै आश्चर्यमा परेका छौं।’

‘प्रहरीलाई चुनौती दिँदै शृंखलाबद्ध चोरी गर्नु र उनीहरूकै घरबाट ८० राउन्ड गोली बरामद हुनु,’ उनले भने, ‘यस्तो घटनालाई अदालतले गम्भीर रुपमा हेर्नुपर्नेमा खासै चासो नदेखाउँदा प्रहरीलाई अबको दिनमा काम गर्न पक्कै असहज हुन्छ।’

अदालतले उनीहरूलाई तारेखमा छाडिदिएकै राति भद्रपुर बजारमा फेरि चोरी भएको छ। भद्रपुर–५ स्थित धर्मशाला अगाडि तापस सरकारको पसल फुटाएर सरसामान चोरी भएको वडा प्रहरी कार्यालय भद्रपुरले जनाएको छ। रिहा भएका दुवै जनाले असार २५ गते मध्यरातमा भद्रपुर–६ स्थित राज अग्रवालको प्रियंका मोबाइल पसलमा सटरको ताला फुटाएर २९ वटा मोबाइल र नगद ६१ हजार ५ सय रुपैयाँ नगद चोरी गरेका थिए। पसल सञ्चालक अग्रवालले अझै मोबाइल फिर्ता पाएका छैनन्, यता चोरी गर्ने चाहिँ रिहा भइसकेका छन्। timesofpradesh

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article