समाचार
हल्दिबारी संवाददाता १ घण्टा अगाडि

हल्दीबारीमा डेंगु र जापानिज इन्सेफलाइटिस विरुद्ध विद्यार्थी र जनप्रतिनिधि सडकमा

झापा । डेंगु तथा जापानिज इन्सेफलाइटिस रोगको जोखिम बढेसँगै हल्दीबारीमा यसको रोकथाम र नियन्त्रणका लागि सचेतना र सरसफाइ अभियान तीव्र पारिएको छ।

Advertisement

​हल्दीबारी आधारभूत स्वास्थ्य सेवा केन्द्र–५ को आयोजनामा मोती आधारभूत विद्यालयका विद्यार्थीहरूलाई डेंगु र जापानिज इन्सेफलाइटिस सम्बन्धी एकदिवसीय अभिमुखीकरण कार्यक्रम प्रदान गरिएको हो।

Advertisement

​कार्यक्रममा स्वास्थ्यकर्मीहरूले लामखुट्टेको टोकाइबाट बच्ने उपाय, रोगका लक्षण तथा यसको रोकथामका विधिबारे विद्यार्थीहरूलाई जानकारी गराएका थिए। अभिमुखीकरणपश्चात् विद्यालयका विद्यार्थी, शिक्षक, स्थानीय वडा अध्यक्ष तथा वडा प्रतिनिधिहरूको सक्रिय सहभागितामा कञ्चनश्री बजार क्षेत्रमा ‘खोज र नष्ट गर’ (Search and Destroy) अभियान सञ्चालन गरियो।

​सचेतना र्‍यालीसहित निस्किएको टोलीले बजार क्षेत्र वरपर पानी जम्ने खाडल, पुराना टायर, बट्टा तथा प्लास्टिकजन्य फोहोरमा लामखुट्टेको स्रोत खोजी गरी नष्ट गरेको छ। साथै, टोलीले कञ्चनश्री बजार क्षेत्रमा सरसफाइ समेत गरेको छ।

​वर्षात्‌को मौसममा डेंगु र जापानिज इन्सेफलाइटिसको सङ्क्रमण फैलिन सक्ने उच्च जोखिम रहने भएकाले स्थानीय तहबाटै रोकथामका लागि यो पहल थालिएको हो। आयोजकले आफ्ना घर र टोल वरपर पानी जम्न नदिन, सफा राख्न र लामखुट्टेको स्रोत नष्ट गर्ने कार्यमा सम्पूर्ण वडावासीलाई सचेत र सहभागी हुन आग्रह गरेको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article