नवलपरासी पूर्व। नेपाल रेडक्रस सोसाइटी नवलपरासी पूर्व जिल्ला शाखाले भोटेकोशी बाढी प्रतिकार्यका क्रममा सञ्चालन गरिएका खोज तथा उद्धार, शव व्यवस्थापन र स्वयंसेवक परिचालन जस्ता कार्यहरूको समीक्षा गरेको छ। बाढीपछि फैलिन सक्ने सम्भावित महामारी तथा स्वास्थ्य जोखिमलाई ध्यानमा राख्दै शाखाले हालसम्मका गतिविधिहरूको लेखाजोखा गरेको हो।

जिल्ला शाखा सभापति डिल्ली राम कडरियाको अध्यक्षता एवम् नेपाल रेडक्रस केन्द्रीय तदर्थ समितिका सदस्य प्रेम लामाको उपस्थितिमा समीक्षा बैठक सम्पन्न भएको थियो।

प्रतिकार्य अभियानअन्तर्गत शाखाले हालसम्म २२९ वटा शव व्यवस्थापन ब्याग (बडी ब्याग), ६ हजार थान मास्क तथा २ हजार थान ग्लोभ्स विभिन्न सरोकारवाला निकायलाई हस्तान्तरण गरिसकेको छ। विपद्का समयमा छुट्टिएका आफन्तहरूको खोजी तथा सम्पर्क जोड्न ३ जना स्वयंसेवक खटाएर ‘पारिवारिक सम्पर्क पुनर्स्थापना’ सहायता कक्षसमेत सञ्चालन भइरहेको शाखाले जनाएको छ।
बैठकमा रेडक्रसद्वारा सञ्चालित सहरी पूर्वतयारी तथा वातावरणीय उत्थानशीलता प्रवर्द्धन परियोजनाका साथै डेङ्गु र सर्पदंश रोकथाम तथा प्रतिकार्य कार्यक्रमबारे पनि विस्तृत प्रस्तुति र छलफल गरिएको थियो।
