हल्दिबारी ,२६ भदौ । करेन्ट लगाएर माछा मार्ने क्रममा झापामा एकैदिन तीनजनाको मृत्यु भएको छ । हल्दिबारी, बुद्धशान्ति र मेचीनगरमा करेन्ट लागेर तीनजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीका अनुसार हल्दीबारी गाउँपालिका- ५ निवासी ६१ वर्षीय ओमबहादुर थाम्सुहाङ भुतेनी खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा उनको घटनास्थलमै मृत्यु भएको थियो ।

त्यसैगरी शनिबार बुद्धशान्ति गाउँपालिका- ३ स्थित रहेको कुलोको पानीमा करेन्ट लगाएर माछा मार्ने क्रममा याङबरक गाउँपालिका-६ पाँचथर घर भई बुद्धशान्ति- २ स्थित आफन्तको घरमा बस्दै आएका ३२ वर्षीय कमल बराइली मृत्यु भएको हो।
करेन्ट लागेर गम्भीर घाइते भएको उनलाई स्थानीय सिटी अस्पताल बुधबारेमा सामान्य उपचारपछि थप उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड पुर्याउना साथ मृत्यु भएको थियो ।
त्यसैगरी मेचीनगर नगरपालिका- ५ स्थित हडिया खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा मेचीनगर- ११ स्थित धाईजन निवासी ४७ वर्षीय सन्त चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।
उनको उपचारको क्रममा आम्दा अस्पताल धुलाबारीमा मृत्यु भएको प्रहरी कार्यालय झापाले जनाएको छ । तीनवटै घटनाको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको जनाइएको छ ।