हल्दिबारी, २८ भदाै । झापाको मेचीनगर–९ स्थित होलिवेल इङ्लिस स्कूलका एक शिक्षकले सोही विद्यालयकी एक छात्रामाथि यौन दुव्र्यवहार गरेको घटना गुपचुप मिलाएको पाइएको छ ।
सोही विद्यालयमा अध्यापन गराउने शिक्षक दिपेश पाठकले कक्षा ९ मा पढ्ने छात्रालाई सामाजिक सञ्जालमार्फत आपत्तिजनक शब्द प्रयोग गरेर दुव्र्यवहार गरेका हुन् । घटना केही दिन अगाडिको हो ।
शिक्षकले केही समयदेखि ती नाबालिका छात्रालाई गलत नियतका साथ मायाप्रेमका कुरा गर्दै अश्लील शब्द समेत प्रयोग गरेकाे पाइएको छ। ती छात्राले यौन दुव्र्यवहार भएको बारे परिवारलाई जानकारी गराएपछि भदौ १० गते विद्यालय परिसरभित्रै पसेर शिक्षक पाठकलाई कुटपीट गरिएको थियो । ती छात्राका आफन्तको कुटपीटबाट शिक्षक पाठक घाइते भएको विद्यालय प्रशासनले जनाएको छ । विद्यालय परिसर भित्रै शिक्षकलाई निर्घात कुटपिट हुँदा उक्त घटनालाई समेत विद्यालय प्रशासनले ढाकछोप गरेको छ।
छात्रामाथि यौन दुव्र्यवहारको घटना बाहिरिएपछि विद्यालय प्रशासनले दुवै पक्षलाई राखेर ‘जबरजस्त’ मिलाउने प्रयत्न गरेको पाइएको छ । विद्यालय प्रशासनले व्यवहारिकता हेरेर ती शिक्षकलाई एक साता विद्यालय नआउन आग्रह गरेको विद्यालय प्रशासन प्रमुख सुरज कार्कीले बताए । विद्यालय प्रशासनले गल्ती नगर्न ती शिक्षकलाई सुझाव दिएर गम्भीर घटना ढाकछोप गरेको हो । अहिले ती छात्रा नियमित रुपमा विद्यालय आइरहेकी छिन् भने आरोपी शिक्षक पाठकले पनि आइतबारबाट पढाउन सुरु गरेका छन् ।
पीडित छात्राबाट अहिलेसम्म प्रहरीमा उजुरी नआएको इलाका प्रहरी कार्यालय धुलाबारीले जानकारी दिएको छ । आरोपी शिक्षक भने पढाउन व्यस्त छन् । विद्यालय प्रशासनले उक्त दुई गम्भीर घटनालाई सामान्य रुपमा लिएको छ ।
मंगलवार विद्यालय पुगेको सञ्चारकर्मीको टोलीलाई स्कूलका प्रशासन प्रमुख कार्कीले छात्रामाथि नराम्रो व्यवहार गरेको भन्दै शिक्षक पाठकलाई एकपटक सच्चिने मौका दिएको बताए । ‘उहाँले गल्ती गर्नु भएकै हो,’ कार्कीले भने, ‘तर पीडित छात्राको अभिभावकसँग बसेर केश मिलाइसकिएको छ । यसमा धेरै कुरा भन्नु छैन ।’