बिहीबार पर्थमा भएको पुरुष टी–२० विश्वकप क्रिकेटमा जिम्बाब्वेले पाकिस्तानलाई अन्तिम बलमा एक रनले पराजित गर्यो । जिम्बाब्वेको आश्चर्यजनक जितका नायक बने सिकन्दर रजा । खेलपछि अलराउन्डर रजा भावुक देखिए । एक अन्तर्वार्तामा रजाले आफूसँग आफ्नो भावना व्यक्त गर्ने शब्द नभएको बताए ।

उनले भने, ‘म केटाहरूप्रति कत्तिको गर्व गर्छु भनेर भन्न सक्दिनँ। हाम्रा फास्ट बलरहरूले जसरी सुरुवात गरे र जसरी हामीले म्याच समाप्त गर्यौँ, मलाई लाग्दैन कि म अहिले कुनै शब्दले बयान गर्न सक्छु । यो पल कहिल्यै भुल्ने छैन।’ रजाले भने, ‘म्याच मेरो लागि निकै महत्त्वपूर्ण थियो, कसरी ब्याटिङ गर्ने भन्ने सोचिरहेको थिएँ । मैले केही टिपोटहरू पनि बनाएको थिएँ र बारम्बार पढे किनभने जिम्बाब्वेले ठूला टोलीहरू विरुद्ध खेल्ने मौका कमै पाउँछ। हामी बिरलै फ्लडलाइटमा खेल्न पाउँछौँ । म आफैँ पहिलो पटक पर्थमा खेलेको थिएँ। मेरो शरीर सुतिरहेको थियो तर मेरो दिमाग जागा थियो । यो खेलकै बारेमा सोच्दै थियो।’

उनले थपे, ुजब म बिहान उठेँ, मेरा एक साथीले मलाई म्यासेज पठाए कि मैले आईसीसी वेबसाइटमा क्लिप देखेको छु जसमा अष्ट्रेलियाका पूर्व कप्तान रिकी पोन्टिङले जिम्बाब्वे क्रिकेट र विशेष गरी मेरो बारेमा उल्लेख गरेका थिए। मैले हेरेको छैन भनेँ । साथीले मलाई त्यो क्लिप पठाए जसले मलाई पाकिस्तानविरुद्धको खेलका लागि नयाँ ऊर्जा दियो ।’
लडाकु पाइलट होइन, लडाकु क्रिकेटर
सिकन्दर रजाको जन्म पाकिस्तानको सियालकोटमा भएको थियो। उनी पाकिस्तानी वायुसेनामा पाइलट बन्न चाहन्थे, तर आँखा परीक्षणमा असफल भएपछि उनको सपना पूरा हुन सकेन । त्यसपछि उनी आफ्ना आमाबाबुसँग स्कटल्याण्ड गए जहाँ उनले सफ्टवेयर इन्जिनियरिङमा डिग्री हासिल गरे । उनी सन् २००७ देखि जिम्बाब्वे क्रिकेटसँग जोडिएका छन् । उनले सन् २०१३ मा पाकिस्तानविरुद्ध हरारेमा टेष्ट डेब्यू गरेका थिए।