भद्रपुर । भद्रपुर ९ स्थित प्रकाश एकता कृषि सहकारी संस्था लिमिटेडको १७ औं वार्षिक साधारण सभा विविध कार्यक्रमका साथ सम्पन्न गरिएको छ ।
संस्थाका अध्यक्ष गोपालप्रसाद श्रेष्ठको सभापतित्व तथा भद्रपुर नगर उपप्रमुख राधा कार्कीको प्रमुख आतिथ्यमा उत्कृष्ट सम्मान एवम वार्षिक गतिविधि प्रस्तुत गर्दै सभा सम्पन्न गरिएको हो ।
संस्थाको नीति तथा कार्यक्रम सहित वार्षिक गतिविधि प्रस्तुत गर्दै अध्यक्ष श्रेष्ठले ९६९ महिला तथा ७१० पुरूष र अन्य ६ गरी १६८५ शेयर सदस्य रहेको विवरण प्रस्तुत गर्दै ८८ लाख ४६ हजार शेयर पूँजी रहेको जानकारी गराएका थिए । संस्थाका कोषध्यक्ष चन्द्रबहादुर कार्कीले १ करोड ३८ लाख ५६ हजार ५१२ रूपैयाको वार्षिक आय विवरण पेश गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि कार्कीले देशको उन्नतिका लागि सहकारीको महत्वपूर्ण भूमिका रहेको स्मरण गर्दै स्वरोजगार निर्माणमा सहकारीले दिएको योगदान विर्सनु नहुने बताएकी छन् ।
सचिव शालिग्राम नेपालको सञ्चालन रहेको कार्यक्रममा जेष्ठ सदस्य सम्मानबाट शारदादेवी अधिकारी र कपिलमणि दाहाल, उत्कृष्ट बचतकारोवार सम्मानबाट माया पोखरेल र मिनबहादुर थापा मगर, उत्कृष्ट ऋण कारोवार सम्मानबाट रिता राजवंशी र नौतनप्रसाद पोखरेल, उत्कृट सन्तति सम्मानबाट अर्विन थापा र प्रतिक्षा प्रधानलाई नगद २५०० सहित सम्मान गरिएको थियो ।
सदस्य नुतन ढकालले स्वागत गरेको कार्यक्रममा भद्रपुर ९ का वडाध्यक्ष रामप्रसाद दाहाल र नगर सहकारी शाखा प्रमुख नेत्रप्रसाद पोखरेल, कलवलगुरी सहकारीका अध्यक्ष नारायणप्रसाद चौलागाई लगायतले धारणा राख्दै कृषिको उन्नतिका लागि सहकारीले गरिरहेको प्रयासमा सवैको साथ रहँनु पर्ने बताएका थिए ।