बिर्तामोड । नेपाल दशनामी समाज कोशी प्रदेश, झापा र बिर्तामोड नगर समितिले हाल अमेरिका बस्दै आएका साहित्यकार डा. चन्द्र गिरीसँग भेटघाटसँगै झापामा स्वागत गरेको छ । अमेरिकी सरकारको वातावरण मन्त्रालयका वरिष्ठ सल्लाहकार समेत रहेका डा. गिरीसँग समाजले बुधवार साँझ बिर्तामोडस्थित किङ्सवेरीमा भेटघाट गरेको हो ।
भेटद्दाटको क्रममा डा. गिरीलाई स्वागतसँगै मायाको चिनोसमेत प्रदान गरिएको थियो । आफ्ना बन्धुहरुसँगको भेटघाट एकदमै आत्मीय, सौहार्दपूर्ण र प्रेरणादायक रहेको डा. गिरीले बताए । छोटो समयको भेटघाट भएपनि समाजको प्रगतिसँगै भाइचारा र बन्धुत्वले आफुलाई धेरै खुसी बनाएको उनको भनाई थियो ।
दशनामी समाजका बिषयमा गहन छलफलसमेत भएको थियो । उनले मायालु स्वागत र सम्मानले निकै अभिभूत भएको महसुस भएको बताए । नेपाल दशनामी समाजले समाज र समुदायको विकासमा समाजले पु¥याएको योगदान प्रशंसा गर्दै डा. गिरीले आगामी दिनहरूमा पनि सहकार्य, सद्भाव, र सामाजिक जिम्मेवारीप्रति साझा प्रयास निरन्तर जारी रहने विश्वास ब्यक्त गरे ।
सम्मानका लागि हृदयदेखि आभार प्रकट गर्दै डा. गिरीले सम्पूर्ण दशनामीहरुको उज्ज्वल भविष्यका लागि कामना गर्दै शुभकामनासमेत ब्यक्त गरे ।
विश्वका १२६ देशहरुको भ्रमण गरिसकेका डा. गिरीले ‘मैले नदेखेको सपना’ आत्मकथा र ‘संसारको सेरोफेरो’ यात्रा संस्मरण प्रकाशन गरिसकेका छन् । उनले भेटघाटका क्रममा उनको संसारको सेरोफेरोसमेत समाजको टोलीलाई हस्तान्तरण गरेका थिए ।
साहित्यकार डा. गिरीले साहित्य, यात्रा अनुभव र अमेरिका बसाइ बारेमा जानकारी गराएका थिए । साहित्यकार डा. गिरीले अमेरिकाको सरकारी निकायमा उच्च तहमा बसेर काम गर्ने थोरै नेपाली मध्ये आफू पनि एक भएकोमा खुशी व्यक्त गरे । आफु जहाँ रहे तथा बसे पनि देश बन्धुत्वलाई बिर्सन नसकिने अनुभव सुनाएका थिए ।
वि. सं. २०१८ साल बैशाख २९ गते खोटाङमा जन्मीएका साहित्यकार डा. गिरीले नेपालबाट बि. एस्सी. साइन्स र बि. एस्सी. फरेस्ट्री तथा थाइल्यान्डबाट एम. एस. र पि.एच.डी. सम्मको औपचारिक अध्ययन पूरा गरेका छन् ।
डा. गिरीलाई नेपाल दशनामी समाज कोशी प्रदेशका अध्यक्ष पदमबहादुर पुरी (प्रकाश), सह–सचिव उमेश भारती, झापा अध्यक्ष केदार गिरी, बिर्तामोड नगर अध्यक्ष खड्गराज गिरी, नगर निवर्तमान अध्यक्ष अर्जुन गिरी, नगर वरिष्ठ उपाध्यक्ष खेमराज गिरी, सचिव प्रजित पुरी, नगर कोषाध्यक्ष बिदुर गिरी, नगर सदस्य रणबहादुर गिरी, ब्यवसायी तथा सामाजिक ब्यक्तित्व कुमार गिरी, समाजका बिर्तामोड प्रेस सल्लाहकार तथा पत्रकार उद्धव पुरीलगायतको टोलीले झापामा स्वागत तथा सम्मान गरेको थियो ।