झापा । बिस्कुटको प्याकेटमा ब्राउन सुगर लुकाएर ल्याउँदै गरेका दुई युवायुवती काँकडभिट्टा मेची पुलमा पक्राउ परेका छन्।
गए राति करिब ८:३० बजे भारतको पानीट्याङ्कीबाट सिटी सफारीमार्फत काँकडभिट्टातर्फ आउँदै गरेका पाँचथर मिक्लाजुङ गाउँपालिका-४ का ३१ वर्षीय दिलप्रसाद राई र मिक्लाजुङ-५ स्थायी ठेगाना भई हाल दमक-२, हिमालय टोलमा डेरा गरी बस्ने २९ वर्षीया स्मारिका नेम्बाङलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
उनीहरूले पतञ्जलि दूध लेखिएको बिस्कुटको प्याकेटभित्र ४ ग्राम ब्राउन सुगर लुकाएर ल्याएको पाइएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ। पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको छ।
प्रहरीका अनुसार लागूऔषध ओसारपसारको यो शैली नयाँ भए पनि नियमित जाँचका क्रममा प्रहरीले यो घटनालाई फेला पारेको हो। घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ।