नोवेल कोरोना भाइरस (COVID-19) को संक्रमण रोकथाम तथा नियन्त्रण गर्नका लागि नेपाल सरकारले घोषणा गरेको लामो समयको लकडाउनको कारणले गर्दा अति-विपन्न, अशक्त, असहाय र दैनिक ज्याला मजदुरी गर्ने घरपरिवार र असंगठित क्षेत्रमा काम गर्ने कामदारहरुलाई दैनिक जीविकोपार्जनमा खाद्यान्न लगायतका राहत सामाग्री वितरण गर्नुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै झापाको हल्दीबारी गाउँपालिकाको आज चैत-२५ गते आइतबार बसेको गाउँ कार्यपालिका बैठकले वडा-वडाबाट प्राप्त भएका घरपरिवारको नामावली अनुमोदन गरी गाउँपालिका भरीका १६६० घरपरिवारलाई राहत वितरण गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष रविन्द्र प्रसाद लिङ्देनले जानकारी दिएका छन् ।

राहत वितरणका लागि वडा न. १ बाट २५६ घरधुरी, वडा न. २ बाट ९२९ घरधुरी, वडा न.३ बाट १५९ घरधुरी, वडा न. ४ बाट १५७ घरधुरी र वडा न. ५ बाट १५३ घरधुरीको नामावली प्राप्त भएकोमा, प्राप्त नामावली गाउँ कार्यपालिका बैठकले यथावत रुपमा अनुमोदन गर्ने निर्णय गरेको गाउँपालिकाका उपाध्यक्ष डम्बर गिरीले जानकारी दिए ।

गाउँपालिकाको गत चैत-१९ गते बसेको बैठकले कोरोना भाइरस संक्रमण रोकथाम तथा व्यवस्थापन राहत कोष गठन तथा संचालन मापदण्ड, २०७६ स्वीकृत गरि वडा-वडामा राहत पाउने लाभान्वित घरधुरीको तथ्यांक संकलन गरि ल्याउन सम्बन्धित वडाका वडाअध्यक्षको संयोजकत्वमा, सदस्यहरु वडाका सबै जनप्रतिनिधि, राजनीतिक दलको तर्फबाट १/१ जना प्रतिनिधि, रेडक्रस साखाको प्रतिनिधि, स्वास्थ्य संस्थाको प्रमुख र सम्बन्धित वडाको सचिव सदस्य सचिव रहेको समिति गठन गरेको थियोे ।सोही समितिको सिफारिस बमोजिम प्राप्त नामावली कार्यपालिका बैठकले अनुमोदन गरेको उपाध्यक्ष गिरीले बताए ।

 

गाउँपालिकाले परिवार संख्याको आधारमा ३ वटा प्याकेजमा राहत वितरण गर्ने भएको छ, जसअनुसार पहिलो प्याकेज ६ जनाभन्दा बढि परिवार संख्या भएका घरपरिवारहरुलाई दिइने राहत प्याकेजमा १५ किलो चामल, ३ किलो दाल, डेढ लिटर तोरीको तेल, २ किलो आयोडिनयुक्त नुन र ३ वटा साबुन दिइने, दोस्रो प्याकेज ३देखि ५ जनासम्म परिवार संख्या भएका घरपरिवारहरुलाई दिइने राहत प्याकेजमा १० किलो चामल, २ किलो दाल, १ लिटर तोरीको तेल, १ किलो आयोडिनयुक्त नुन र २ वटा साबुन दिइने र तेस्रो प्याकेज २ जनासम्म परिवार संख्या भएका घरपरिवारहरुलाई दिइने राहत प्याकेजमा ७ किलो चामल, १ किलो दाल, आधा लिटर तोरीको तेल, १ किलो आयोडिनयुक्त नुन र १ वटा साबुन दिइने गाउँपालिकाका प्रवक्ता सागर पोर्तेलले जानकारी दिए ।

मापदण्ड बमोजिम राहत वितरणका लागि आवश्यक पर्ने सामाग्री खरिद गर्नका लागि सार्वजनिक खरिद ऐन,२०६३ को दफा ६६ बमोजिम विशेष परिस्थितिमा खरिद गर्ने सम्बन्धि व्यवस्था बमोजिम प्रकृया अगाडि बढाइ यथाशीघ्र राहत वितरण गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलाराज थापामगरले जानकारी दिए ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार