गणतन्त्रको शुभकामना : घुम्ने मेच र अन्धो कथा

– ✍ सरोज पौडेल

अरुको मृत्युमा आँखा रसाउने,
आफ्नो जीवन त्यहीं हेर्ने आलम,
अपराधको धुवाँमा उभिएर पनि,
गणतन्त्रको शुभकामना पाउने शालीन धर्म!
घुम्ने मेचमा बस्छ अन्धो,
दृष्टिविहीन, तर लोभी साह्रो,
जनताको आँशु उसलाई पखालिन्छ,
तर कानुन? लाचार, मौन, र गाह्रो।
मान्छे उनले पोलेका होइनन् रे,
पोल्न लगाएका हुन् — आदेशमा,
न्यायाधीशले छाडेका होइनन् रे,
छोड्न लगाइएको थियो — आदेशमा।
शासन न शासक, न सेवक भयो,
अझ ‘व्यवस्था’ उत्कृष्ट छ रे,
जहाँ कानले देख्दैन, आँखाले सुन्दैन,
र विवेक चिहाउँछ जेलको ढोका झ्यालभित्रै।
सोध्छु म:
यो गणतन्त्र हो कि लिलाम घर?
जहाँ आशा बिक्छ, न्याय रोकिन्छ,
र आलमहरू फेरि नायक बन्छन्,
निर्दोषहरूले कालो दिन लेख्छन्।