झापा, असार ४ । झापा जिल्लाको भद्रपुर नगरपालिका वडा नम्बर १०, फुलबारी गाउँमा हिजो असार ४ गते राति करिब ८ बजे एक युवकमाथि जंगली हात्तीले आक्रमण गरेको छ।

आक्रमणबाट सोही ठाउँका २१ वर्षीय बिशाल सोरेन घाइते भएका छन्। कामबाट फर्कने क्रममा उनलाई एक वटा जंगली हात्तीले आक्रमण गरी कम्मर, टाउको र बायाँ खुट्टामा गम्भीर चोट पुर्याएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ।

घाइते सोरेनलाई तत्कालै स्थानीयले उद्धार गरी प्रादेशिक अस्पताल भद्रपुरमा उपचारका लागि पुर्याइएको हो। अस्पताल स्रोतका अनुसार उनी अहिले बोल्न सक्ने अवस्थामा छन् र स्वास्थ्य अवस्था मध्यम रहेको जनाइएको छ।