हल्दीबारी, झापा । थिभरा कालिका सामुदायिक वन उपभोक्ता समितिले हल्दीबारी गाउँपालिका–४ का बडाबारी, अधिकारी चोक र मङ्गलबारे बजारका लागि फलामका डस्टबिन हस्तान्तरण गरेको छ।

समितिका अध्यक्ष सागर पोर्तेलको अध्यक्षता र वडा अध्यक्ष सन्तकुमार थापाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बजार व्यवस्थापन समितिलाई डस्टबिन हस्तान्तरण गरिएको हो।

वडा अध्यक्ष थापाले दिगो फोहोर व्यवस्थापन र सामाजिक गतिविधिमा समिति र वडा मिलेर अघि बढ्नुपर्ने आवश्यकता औँल्याए। “वन र वडाबाट आउने सहयोगलाई एउटै कोषमा राखी आय–आर्जन र विकासमा खर्च गर्न सके सबैलाई लाभ पुग्छ,” उनले भने।
त्यस्तै, अध्यक्ष पोर्तेलले वन विकास, फोहोर व्यवस्थापन र गरिबी निवारणका क्षेत्रमा स्थानीय सरकारसँग सहकार्य गर्दै दीर्घकालीन काम गर्ने प्रतिबद्धता व्यक्त गरे। “वितरण गरिएका डस्टबिनको सही सदुपयोग हुनेछ भन्ने हामीलाई विश्वास छ,” उनले भने।
नेपाल रेडक्रस सोसाइटी जलथल उपशाखाका अध्यक्ष रेम खरेलले समितिको भूमिकाको प्रशंसा गर्दै, वनभित्र पाइने फलफूलको उत्पादनमार्फत पर्यटन र आर्थिक आम्दानी बढाउन सुझाव दिए।
कार्यक्रममा समितिका उपाध्यक्ष शर्मिला लामिछानेले स्वागत मन्तव्य राखेकी थिइन् भने सचिव शालिग्राम पराजुलीले सहजीकरण गरेका थिए। यस अवसरमा वडा सदस्य सुनिल बाराकोटी, पूर्व वडा सचिव जयप्रसाद पोखरेल, प्रहरी चौकीका प्रमुखलगायत वन र बजार समितिका पदाधिकारीहरूको उपस्थिति थियो।