बनियानी, साउन २६ । झापाको कचनकवल गाउँपालिकाले वैज्ञानिक डा. महावीर पुनको ‘महावीर पुन : सम्झना, सपना र अविरल यात्रा’ पुस्तक ५० हजार रुपैयाँ बराबरको खरीद गरेको छ।
डा. पुनको अभियानलाई सहयोग पुर्याउने उद्देश्यले गाउँपालिकाले सोमबार पालिकाको सभाहलमा स्वागत–सम्मान कार्यक्रमको आयोजना गरी पुस्तक खरिद गरेको हो। राष्ट्रिय आविष्कार केन्द्रमार्फत बीरगञ्ज कृषि औजार कारखाना सञ्चालनका लागि आर्थिक संकलन गर्ने अभियानमा जुटेका पुनले आफ्नै आत्मकथा पुस्तक बिक्रीमार्फत सहयोग संकलन गर्दै आएका छन्।
गाउँपालिका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशीले कृषि प्रधान मुलुक नेपालमा कृषि औजार उत्पादन अत्यन्त आवश्यक रहेको बताउँदै यस अभियानमा साथ दिन पुस्तक खरिद गरिएको स्पष्ट गर्नुभयो। कार्यक्रमका प्रमुख अतिथि पुनले कृषि औजार उत्पादनमार्फत राष्ट्रको आर्थिक उन्नतिमा योगदान दिने लक्ष्यका साथ आफू लागिपरेको बताउनुभयो।
पूर्व प्रदेशसभा सदस्य बसन्त बानियाले पुनको ज्ञान र सीपलाई आम जनतासम्म पुर्याउने प्रयासको प्रशंसा गर्नुभयो। उपाध्यक्ष नवराज भट्टराईले पुनलाई मुलुकलाई समृद्धितर्फ डोर्याउने अथक योद्धा भन्दै सम्मान व्यक्त गर्नुभयो।
डा. पुनका अनुसार हालसम्म दुई लाख ३० हजार प्रति पुस्तक बिक्री भइसकेको छ र करिब १२ करोड रुपैयाँ भन्दा बढी संकलन भएको छ। सो रकमले कृषि औजार कारखाना सञ्चालन भइरहेको छ।

















