झापा, २०८२ भदौ ६ गते । झापा जिल्लाको गौरीगञ्ज गाउँपालिका–२ कोरोबारी परेवाखोपी नजिक प्रहरीले लागूऔषधसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।

आज दिउँसो करिब १२:०० बजे दक्षिण आपगाछीबाट पूर्व तुलाचन चौक तर्फ आउँदै गरेको प्रदेश १–०१–०१३ प ७०९२ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी कोरोबारीबाट खटिएको टोलीले नियमित चेकजाँच गर्ने क्रममा नियन्त्रणमा लिएको हो।

चेकजाँचको क्रममा मोटरसाइकलमा पछाडि सवार झापा, दमक नगरपालिका–९ धरना टोल बस्ने २९ वर्षीय डिकेश मुण्डाको साथबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगर (प्लास्टिकसहित ३ ग्राम १७० मिलिग्राम, प्लास्टिक बाहेक २ ग्राम ७५० मिलिग्राम) फेला परेको प्रहरीले जनाएको छ।
यस घटनामा संलग्न मोटरसाइकल चालक झापा, गौरादह नगरपालिका–८ बस्ने ३० वर्षीय मनिक मण्डललाई समेत पक्राउ गरी उक्त मोटरसाइकललाई समेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
पक्राउ परेका दुवै जना र बरामद गरिएको लागूऔषधलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि इलाका प्रहरी कार्यालय गौरीगञ्जमा राखिएको छ।