झापा । झापाको बिर्तामोड नगरपालिका स्थित विराटपोखरमा हिजो राति करिब ११ बजे घर फर्किरहेका सैनिक बजार बस्ने ३९ वर्षीय पुरण राई, ३७ वर्षीय दिनेश देवान र २९ वर्षीय सञ्जीव बरालमाथि पछाडिबाट आएका समूहले आक्रमण गरेको प्रहरीले जनाएको छ।

आक्रमणको क्रममा पुरण राईको टाउकोमा धारिलो हतियार प्रहार गरिएको थियो। गम्भीर घाइते भएका राईलाई उनका साथीहरूले तत्कालै बिर्तासिटी अस्पताल पुर्याएका थिए। अस्पतालका चिकित्सकका अनुसार उनको टाउकोमा गहिरो चोट लागेको छ भने अवस्था मध्यम रहेको छ।

घटनापछि प्रहरी चौकी बिर्ताबजारबाट प्रहरी सहायक निरीक्षक पदम विष्टको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो। आक्रमणमा संलग्न व्यक्तिहरुको पहिचान र पक्राउका लागि हाल खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।