झापा । भद्रपुर नगरपालिका–३ मा एउटै वडाका दुई महिला जनप्रतिनिधिबीच विवाद भई हातपात भएको छ ।

कार्यवाहक वडाध्यक्षको जिम्मेवारी पाएकी वडा सदस्य भुव माया थापा पुलामी र सोही वडाकी सदस्य पूर्णमाया सुब्बा (पुनम) बीच आज दिउँसो झगडा बढ्दै गएर हातपातसम्म पुगेको घटना बाहिर आएको हो । दुवै जना राप्रपाबाट निर्वाचित हुन् ।

घटनाबारे प्राप्त विवरणअनुसार दिउँसो करिब २ बजेतिर वडा कार्यालय अगाडिको खाजा पसलमा वडाध्यक्ष पुलामी कर्मचारीहरू मनिका बेगा, प्रमीला थुलुङ र गंगा बरालसँग खाजा खाइरहेका थिए । सोही बेला वडा सदस्य सुब्बा त्यहाँ पुग्दा दुई जनाबीच भनाभन हुँदै विवाद चर्किएको र सुब्बाले पुलामीलाई हातपात गरेकी बताइएको छ ।
हातपातको क्रममा छुट्याउन गएका कर्मचारीहरू मनिका बेगा र प्रमीला थुलुङ समेत सामान्य घाइते भएका छन् ।
घटनापछि कार्यवाहक वडाध्यक्ष पुलामी न्याय माग्दै जिल्ला प्रहरी कार्यालय झापा पुगेकी छिन् । हाल प्रहरी कार्यालयमा दुवै पक्षबीच छलफल भइरहेको जनाइएको छ ।
यसैबीच नेपाल निजामती कर्मचारी संगठन झापाले विज्ञप्ति जारी गर्दै वडामा कार्यरत कर्मचारीमाथि आक्रमण प्रयास भएको भन्दै गम्भीर ध्यानाकर्षण गराएको छ । विज्ञप्तिमा भनिएको छ, “जनताको सेवा गर्ने गरिमामय पदमा आसिन जनप्रतिनिधिबीचको कुटपिट निन्दनीय छ । झगडा रोक्न खोज्ने कर्मचारीमाथि नै निर्वाचित जनप्रतिनिधिबाट आक्रमण हुनु आपत्तिजनक र अस्वीकार्य छ ।”
संगठनले घटनाको घोर निन्दा गर्दै घाइते जनप्रतिनिधि तथा कर्मचारीहरूको उपचार, सुरक्षा र मानसिक त्रास कम गर्ने व्यवस्था गर्न माग गरेको छ । साथै, कुटपिटमा संलग्न जो कोहीमाथि कानुनी कारबाही गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ ।
विज्ञप्तिमा चेतावनी दिइएको छ, “यदि यस घटनालाई सामान्यकरण गर्दै दोषीलाई उन्मुक्ति दिन खोजियो भने हामी सशक्त प्रतिवाद गर्न बाध्य हुनेछौँ ।”