बिर्तामोड । झापाको बिर्तामोडस्थित संजिवनी बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १८औं वार्षिक साधारणसभा असोज ४ गते शनिबार सम्पन्न गरेको छ ।

सहकारी नियमन प्राधिकरणले हालै जारी गरेको मापदण्डलाई अवलम्बन गर्दै संजिवनीले बाह्य अतिथिहरु नबोलाई सदस्यहरु मात्रको उपस्थितिमा साधारणसभा सञ्चालन गरेको हो ।
संस्थाका अध्यक्ष यामकुमार चुडालको अध्यक्षतामा आयोजित साधारणसभाको ज्येष्ठ सेयर सदस्य गणेशप्रसाद खरेल र पूर्व अध्यक्ष एवम् सल्लाहकार संयोजक चक्रप्रसाद खरेलले दिपप्रज्वलन गरी संयुक्तरुपमा समुद्घाटन गर्नुभएको थियो ।

साधारणसभामा अध्यक्ष चुडालले सञ्चालक समितिको प्रतिवेदन प्रस्तुत गर्नुहुँदै गत आर्थिक वर्षको तुलनामा सेयर पुँजी १६ दशमलव ४१ प्रतिशत वृद्धि भएको बताउनु भयो ।
यस्तै निक्षेप बचतमा २१ दशमलव ५६ प्रतिशत, ऋण लगानीमा १० दशमलव ७९ प्रतिशत र जगेडा कोषमा १ दशमलव ८४ प्रतिशतले वृद्धि भएको जानकारी गराउनु भयो ।
जसअनुसार संस्थाको सेयर पूँजी ३ करोड ८६ लाख ६३ हजार २०० पुर्याइएको छ भने निक्षेप बचत ३३ करोड ६ लाख ४६ हजार ३१५, ऋण लगानीमा रहिरहेको ३४ करोड ३६ लाख १४ हजार ५०६ र कोषमा ४ करोड ७ लाख १५ हजार २९४ रहेको प्रतिवेदनमा उल्लेख छ ।
संजिवनीले समीक्षा वर्षमा बाह्य ऋण आधाभन्दा बढी घटाएको छ । आर्थिक वर्ष २०८०/८१ को असार मसान्तमा ३ करोड ७ लाख ९८ हजार ३४६ रुपैयाँ रहेको बाह्य ऋण गत असार मसान्तमा घटाएर १ करोड ४६ लाख ४८ हजार ३७४ रुपैयाँमा झारेको छ ।
संस्थाले समीक्षा वर्षमा ८२ लाख खुद मुनाफा गर्ने लक्ष्य लिएर काम गरेता पनि २४ लाख ३३ हजारमात्र खुद मुनाफा गर्न सकेकोले आफ्ना सदस्यहरुलाई शेयर लाभांस वापत १ दशमलव ५ प्रतिशत र संरक्षित पूँजी फिर्ता कोषमार्फत १ दशमलव ५ प्रतिशत मात्र प्रदान गर्ने भएको छ ।
समीक्षा वर्षमा संस्थाका २८ जना सदस्य परिवारमा आफन्तहरुको देहावसान भएकोले सदस्यहरुलाई काजकिरिया खर्च र १९ जना सदस्यहरु विभिन्न स्वास्थ्य समस्या भई उपचार गराउँदा संजिवनीले ९ लाख ८४ हजार १३० रुपैयाँ सुविधा रकम प्रदान गरेको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।
संस्थाका सचिव मेघराज बाँस्तोलाले सञ्चालन गर्नु भएको साधारणसभा समारोहमा लेखा सुपरीवेक्षण समितिका संयोजक कमला सिवाकोटीले आफ्नो प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
सो अवसरमा संस्थाका १० जना सदस्यहरु पुरस्कृत एवम् सम्मानित हुनुभएको थियो । समीक्षा वर्षका असल बचतकर्ता सदस्यहरुमा बिर्तामोड १ का अपेक्षा बुढाथोकी, बिर्तामोड २ का अनामिका प्रधान, बिर्तामोड ५ का नविन मेचे र हल्दिबारी २ का ईश्वरीप्रसाद पराजुलीलाई दोसल्ला ओढाएर नगदसहित मायाको चिह्नो प्रदान गरिएको थियो ।
यस्तै असल ऋण कारोबारी सदस्यहरुमा हल्दिबारी २ का दिलकुमारी राई, बिर्तामोड ४ का विष्णुकुमार चौधरी, बिर्तामोड ९ का धनमाया श्रेष्ठ र भद्रपुर ६ का अशोक शर्मा मिस्त्रीलाई दोसल्ला ओढाएर नगदसहित मायाको चिह्नो प्रदान गरिएको थियो ।
आफ्ना सेयर सदस्यका छोराछोरीले एसईई परीक्षामा उत्कृष्ट अंक हासिल गरे वापत संस्थाले हरेक वर्ष प्रदान गर्दै आएको उत्कृष्ट शिक्षा पुरस्कार यस पटक ज्ञानु सिवाकोटीका छोरा आर्यन सिवाकोटी र कृष्णप्रसाद उप्रेतीका छोरी पुनम उप्रेतीलाई प्रदान गरिएको छ ।
साधारणसभा समारोहमा उपस्थित सेयर सदस्यहरुलाई संस्थाका कोषाध्यक्ष एवम् शिक्षा उपसमितिका संयोजक शिवबहादुर कटवालले शाब्दिक स्वागत गर्नुभएको थियो ।हरेक वर्ष झैं संजिवनीले वर्षभर गरेका कामहरुको भिडियो संग्रह गरी साझामञ्च मिडियाले बनाएको डकुमेन्ट्री रिपोर्ट साधारणसभा हलमा प्रस्तुत गरिएको थियो । संस्थाका एक दर्जन हाराहारी सेयर सदस्यहरुको व्यवसायस्थलमा गएर उहाँहरुको कारोबार एवम् संस्थासँगको सम्बन्धका बारेमा उजागर गर्दै संजिवनीले वर्षभर गरेका कामहरु उक्त डकु रिपोर्टमा समावेश गरिएको छ ।