झापा ।संयुक्त राष्ट्र सङ्घले सन् २०२२ यता हाइटीमा जारी सशस्त्र हिंसाका कारण १६ हजारभन्दा बढी मानिस मारिएको जनाएको छ।
मानव अधिकार प्रमुख भोल्कर टर्कका अनुसार गत मार्चदेखि हिंसा अझै बढेको छ र हाइटीको अवस्था थप जटिल बन्दै गएको छ। राजधानी पोर्ट–अ–प्रिन्स मात्र नभई अन्य क्षेत्रमा समेत आपराधिक गिरोहको गतिविधिले अस्थिरता बढाएको बताइएको छ।

उनीहरूले हत्या, अपहरण, बलात्कार र लुटपाटजस्ता अपराधलाई नियन्त्रण गर्न सक्ने अवस्था अझै बनेको छैन। अहिलेसम्म झण्डै सात हजार मानिस घाइते भएका छन्।
यसबीच, संयुक्त राष्ट्र सुरक्षा परिषद्ले हाइटीमा नयाँ सुरक्षा बल पठाउने प्रस्ताव अनुमोदन गरेको छ। यस अन्तर्गत अधिकतम पाँच हजार पाँच सय प्रहरी र सैनिक तैनाथ हुन सक्नेछन्।
तर, अधिकार प्रमुख टर्कले हाइटी सरकारले राजधानीमा गरेको ड्रोन आक्रमणमा करिब ५६० जनाको मृत्यु भएको र तीमध्ये ११ जना बालबालिका पनि रहेको बताए। उनका अनुसार यी आक्रमणहरू अन्तर्राष्ट्रिय मानव अधिकार कानुनविपरीत हुने सम्भावना छ।
यस वर्ष मात्रै पाँच सयभन्दा बढी मानिसलाई गिरोह सदस्यको संदेहमा मारिएको घटनालाई उनले गम्भीर चिन्ता व्यक्त गरेका छन्। साथै बालबालिकाहरू जबरजस्ती भर्ती, शोषण र तस्करीको जोखिममा परेको भन्दै उनले अन्तर्राष्ट्रिय समर्थन आवश्यक रहेको बताए।