झापा । हिजो एकादशीका दिन झापाको बिर्तामोड–८ मा लागेको गरामनी मेलामा छुरा प्रहार हुँदा एक युवक गम्भीर घाइते भएका छन्।
साँझ करिब पौने ७ बजे मेलास्थल नजिकै हल्दिवारी जाने बाटोमा १८ वर्षीय बर्षात राजवंशीमाथि छुरा प्रहार भएको हो। स्थानीय सप्नी राजवंशीका छोरा बर्षातलाई तत्कालै अज्ञात व्यक्तिहरूले कुटपिट गर्दै धारिलो हतियार प्रयोग गरी घाइते बनाएर फरार भएको प्रहरीले जनाएको छ।

गम्भीर घाइते राजवंशीलाई प्रारम्भिक उपचारपछि बीएण्डसी अस्पताल, बिर्तामोड पठाइएको छ। उनको पिठ्युँमा गहिरो चोट लागेको बताइएको छ।
घटनापछि राति पौने ९ बजे प्रहरी सहायक निरीक्षक भुपेन्द्र कार्कीको कमाण्डमा प्रहरी टोली खटिएको छ। इलाका प्रहरी कार्यालय बिर्तामोडका अनुसार घटनामा संलग्नहरूको पहिचान र खोजी भइरहेको छ।
यसैबीच, यस वर्ष गरामनी मेलामा खुलेआम जुवाजन्य खेल ‘डाइस’ सञ्चालनमा रहेको प्रहरीले जनाएको छ। छुरा प्रहार भएको स्थान वरिपरि मात्रै एक दर्जनभन्दा बढी डाइस रहेका थिए।