समाचार
हल्दिबारी संवाददाता ९ महिना अगाडि

झापामा लगातार वर्षा: जनजीवन अस्तव्यस्त, २५ हजार बढी विस्थापित

झापा, ५ असोज । लगातार दुई दिनदेखि परेको अविरल वर्षाका कारण झापाको जनजीवन पूर्ण रूपमा अस्तव्यस्त बनेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार, कनकाई माई र मेची नदीमा आएको बाढीले करिब ५ हजार ४८१ घरधुरीका २५ हजार २३१ जना विस्थापित भएका छन्।

नदी तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई सुरक्षित स्थानतर्फ सारिएको डीएसपी खगेन्द्र खड्काले जानकारी दिए। प्रभावित क्षेत्रहरूमा शिवसताक्षी, गौरीगञ्ज, अर्जुनधारा, भद्रपुर र झापा गाउँपालिकाका सयौं घरहरू बाढीको चपेटामा परेका छन्। सबैभन्दा बढी विस्थापित झापा गाउँपालिकामा देखिएका छन्। डीएसपी खड्काका अनुसार, “विस्थापित परिवारका सदस्यहरू कोही आफन्तसँग बसेका छन् भने कोही नजिकै विद्यालयमा आश्रय लिएका छन्।”

विज्ञापन (Advertisement)Advertisement

तटबन्ध कटान र आर्थिक क्षति

कनकाई नदीले गौरीगञ्ज गाउँपालिका-२ अन्तर्गत हुलाकी राजमार्गको तल्लो तटीय दायाँ किनारमा करिब २०० मिटर तटबन्ध कटान गरेको छ। यसबाट होकलबारी गाउँका करिब ११४ घर डुबानमा परेका छन् र ५०० हेक्टर धान खेतमा क्षति भएको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार, झापाका विभिन्न तटीय क्षेत्रमा एक हजार ५०० मिटर तटबन्ध कटान हुँदा करिब १० करोड रुपैयाँ बराबरको आर्थिक क्षति भएको छ। त्यस्तै, झापा गाउँपालिका-२ को कुवाडीमा अनुमानित २०० मिटर तटबन्ध कटानले करिब २५ हेक्टर जग्गामा असर पुर्याएको छ, जसबाट अनुमानित ७५ लाख रुपैयाँ बराबरको नोक्सानी भएको मन्त्रालयले जनाएको छ।

मेची नदीले विभिन्न स्थानमा स्पर भत्काउँदा करिब ५० लाख रुपैयाँ बराबरको थप क्षति भएको छ। स्थानीय प्रशासन र सुरक्षाकर्मीहरू प्रभावित क्षेत्रहरूमा राहत तथा उद्धार कार्यमा जुटेका छन्।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)