झापा, ४ कार्तिक — झापाको बिर्तामोडमा भएको सवारी दुर्घटनामा घाइते भएका एक साइकिल यात्रीको उपचारकै क्रममा मृत्यु भएको छ।
गत असोज ५ गते बिहान करिब सवा आठ बजे बिर्तामोड–२ भाटभटेनी सुपरमार्केट अगाडि पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्रदेश १–०१–१७ प २५८ नम्बरको मोटरसाइकलले साइकिल यात्रीलाई ठक्कर दिएको थियो।
मोटरसाइकल अर्जुनधारा नगरपालिका–५ का १७ वर्षीय अनुज राजवंशीले चलाएका थिए भने साइकिल यात्री झापा गाउँपालिका–२ निवासी ५० वर्षीय पिन्टु राजवंशी घाइते भएका थिए।
घाइते पिन्टु राजवंशीलाई तत्काल उपचारका लागि बीएण्डसी अस्पताल, बिर्तामोड पुर्याइएको थियो। उपचारपछि असोज ३० गते डिस्चार्ज गरी घर लगिएकोमा कात्तिक ४ गते बिहान करिब २:१० बजे उनको मृत्यु भएको हो।
मोटरसाइकल चालक अनुज राजवंशीलाई प्रहरीले नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनीमा राखी कानूनी प्रक्रिया अघि बढाएको जनाएको छ।
मृतकको शव पोस्टमार्टमका लागि मेची प्रादेशिक अस्पताल भद्रपुर पठाइएको र पछि आफन्तलाई बुझाइएको प्रहरीले जानकारी दिएको छ।

















