“त्यसैमा जम्यौं, त्यसैमा हुर्कियौं, त्यसैमा विलाऔं , फुटेका भाइ जुटेर सबै छुटेका मिलाऔं।”

संसार गतिशील छ। यस गतिशील संसारको बहावलाई जसले कठिन परिस्थिती खेपेर पनि सहज स्वीकार गर्छ, ऊ नै यो दिव्यधामको साक्षी बन्न सक्छ। व्यक्ति पनि त्यही सफल मानिन्छ, जो उस बहावलाई आफ्नै गतिसँग समाहित गर्न सक्छ; अन्यथा ऊ किनारमै सदाका लागि छोडिन्छ र उसको जीवन जन्म र मरणमा मात्रै सीमित रहन्छ।

मानव जीवनका यी दुई पाटा – जन्म र मृत्यु – सबैले भोगेका छन्। सफलता–असफलता, अँध्यारो–उज्यालो, रात–दिन, राम्रो–नराम्रो, सुख–दुःख आदि मानौं एउटै सिक्काका दुई पाटा हुन्। यस धराधाममा जन्म लिने सबैको आफ्नै इतिहास र जीवनकथा हुन्छ। सफल व्यक्तिका कथा अमर हुन्छन्; उनीहरू भौतिक रूपमा विलीन भए पनि संसारले उनका विचारको अनुसरण गर्दै अघि बढ्छ। असफल व्यक्तिको अस्तित्व भने इतिहासको धुलोमा हराउँछ। त्यस्ता अमर व्यक्तिहरूमध्येका एक महान् व्यक्तित्व हुन् – योगी नरहरिनाथ।

योगी नरहरिनाथको जीवन परिचय –

योगी नरहरिनाथ केवल नेपाली संस्कृतिका प्रणेता मात्र थिएनन्; उनी नेपाल र नेपालीका आदर्श मार्गनिर्देशक थिए। असहज र कठिन परिस्थितीमा पनि अडिग रहेका उनले जीवनभर सत्यको वकालत गरे। तर विडम्बना — बाँचुन्जेल तिरस्कार र पीडामात्र पाएका योगीको निधनपछि उनको अभावले राष्ट्र रोयो।

नेपालका मौलिक भेष, भूषा, भाषा र संस्कृतिका कट्टर समर्थक योगी नरहरिनाथ विक्रम संवत् १९७१ फागुन १७ गते कर्णाली अञ्चलको कालीकोट जिल्लाको लालु गाउँमा पिता ललितसिंह थापा र माता गौरा देवीको कोखबाट जन्मिएका थिए। जन्मनाम बलवीरसिंह थापा रहेको थियो। भारद्वाज गोत्रका बझाङ्गी सिंह ठकुरी वंशका सन्तान उनले आफ्ना गुरु छिप्रनाथबाट दीक्षा लिएका थिए। एक्लै ब्रह्मचारी जीवन बिताएका योगी वि.सं. २०५९ फागुन १४ गते ब्रह्मलीन भए।

उनको अध्ययन र साधना –

विद्यालङ्कारसम्मको औपचारिक शिक्षा प्राप्त गरे पनि योगी इतिहास, वेद, पुराण, र संस्कृति अध्ययनमा समर्पित रहे। उनले पचहत्तरै जिल्लाको पैदल भ्रमण गरी जनजनमा ज्ञान र प्रेरणा बाँडे। उनले एशिया, युरोप, र अमेरिकासम्म पुगेर नेपाल र हिन्दू संस्कृतिको गौरव उजागर गरे।

राजसंस्था र राष्ट्रियता प्रति दृष्टिकोण –

योगीका दृष्टिमा राजसंस्था र पञ्चायती व्यवस्था नेपालको वैदिक दर्शनको उपज थिए। उनले राजालाई राष्ट्रको एकता र असंलग्नताको प्रतीक माने। यद्यपि राजदरबार र सिंहदरबारकै मिलेमतोमा उनलाई पटक–पटक जेल हालियो, यातना दिइयो। तर उनी कहिल्यै विचलित भएनन्।

एक अन्तर्वार्तामा उनले भनेका थिए – “राजाले आफ्नो छाता आफैं ओढ्न जान्नुपर्छ, नत्र जसले छाता ओढाउँछ, ऊ नै त्यसमा ओढिन्छ।”

उनको यो वचन बिषजस्तै लाग्यो शासक वर्गलाई। तर आज आएर ती शब्दहरू यथार्थमा परिणत भएका छन् – राजसंस्था मात्र राष्ट्रिय एकताको धरोहर हो भन्ने बोध पुनः जागृत हुँदैछ।

कृतित्व र योगदान –

योगी नरहरिनाथले नेपालको इतिहासका ६४ ठेली लेखे। उनका ५०० भन्दा बढी शोधपरक ग्रन्थहरू प्रकाशित छन्, र धेरै अझै अप्रकाशित छन्। उनका लेख र भाषणहरूमा नेपाली माटोको सुगन्ध पाइन्छ – जसले सुषुप्त राष्ट्रिय चेतनालाई जगाउँछ र मरेको आस्थामा पुनः प्राण फुक्छ।

उनले धर्म, संस्कृति, र राष्ट्रिय एकताको सन्देश दिए – “नेपालीले नेपालीका लागि जन्मभूमिको सेवार्थ सदैव दृढप्रतिज्ञ रहनुपर्छ।”

उनको परिकल्पना थियो – विश्वका सबै ॐकार हिन्दूहरू एक सूत्रमा बाँधिई बसुधैव कुटुम्बकम् को भाव साकार पार्नु।

विदेशी हस्तक्षेपप्रतिको चेतावनी –

योगी नरहरिनाथ विदेशी संस्कृति र परनिर्भर शिक्षाका कट्टर विरोधी थिए। उनी भन्थे – “यस्तै ताल रह्यो भने यही विदेशी शक्तिहरूले राजसंस्था नै उखेल्नेछन्।” आजको यथार्थले उनका यी शब्दहरूलाई सत्य सिद्ध गरिदिएको छ।

योगीका कृतिको पुनर्जागरण अभियान –

योगीका काव्य र ग्रन्थहरूलाई पुनः प्रकाशन गरी जन–जनमा पुर्‍याउनु हाम्रो साझा जिम्मेवारी हो। समाजलाई सत्य र संस्कारको मार्गमा अघि बढाउने यही समयको आवश्यकता हो।

श्री योगी नरहरिनाथ एवम् अध्यात्मिक फाउन्डेशन अष्ट्रेलिया ले यही जिम्मेवारी वहन गर्दै २०८२ पौष १२, १३ र १४ गते (२७–२९ डिसेम्बर २०२५)

श्रीमद्भागवत ज्ञान महायज्ञ आयोजना गर्दैछ –

भागवत मञ्जरी राधिका दासीजी का मुखारविन्दबाट कथा श्रवण हुने यो पुण्य कार्य संस्थाका अध्यक्ष नारायण शास्त्री पन्थी, उपाध्यक्ष रामहरी थापा, कोषाध्यक्ष अनिल ज्ञवाली, सचिव कृष्णप्रसाद सुवेदी र प्रो. रञ्जित शाहको सक्रियतामा सम्पन्न हुनेछ।

यो अभियानले सनातन धर्म, संस्कृति, संस्कारको पुनर्जागरणसँगै योगीप्रतिको सच्चा सम्मान प्रकट गर्नेछ। योगीका विचार युगौँसम्म सजीव रहनेछन्, पुस्तौँलाई मार्गदर्शन दिनेछन्, र नेपाललाई पुनः वैदिक गौरवको मार्गमा अघि बढाउनेछन्।

योगीका कृति प्रकाशनले निरन्तरता पाओस् – सबैको साथ, सहयोग र अपनत्व रहोस् -यही शुभकामना।

– इन्द्र प्रसाद ओली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0

+1
0

+1
0

+1
0

+1
0

+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार