काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण आजदेखि त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा सुरु हुँदैछ। प्रतियोगिताको शुभारम्भ दिउँसो २ बजे हुनेछ भने पहिलो खेल दिउँसो ४ बजे साविक विजेता जनकपुर बोल्ट्स र काठमाण्डौ गुर्खाबीच हुनेछ।
एनपीएल मङ्सिर २७ गतेसम्म सञ्चालन हुने छ जसमा लिग चरण, तीन प्लेअफ र फाइनलसहित कुल ३२ खेल हुनेछ। प्रतियोगितामा जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाण्डौ गुर्खाज र लुम्बिनी लायन्स गरी आठ टोली प्रतिस्पर्धा गर्ने छन्। प्रत्येक टोलीमा विदेशी खेलाडी पनि सहभागी छन्।
नेपाल क्रिकेट सङ्घ (क्यान) का अनुसार, ३२ मध्ये २३ खेल राति फ्लडलाईटमा हुनेछन्। लिग चरणको अन्तिम खेल मङ्सिर २१ गते खेलिनेछ। यस पटक दर्शकका लागि रङ्गशालामा १० हजार जनाका लागि प्यारापिट निर्माण गरिएको छ।
प्रतियोगिताको विजेताले पुरस्कारस्वरूप एक करोड १० लाख रुपैयाँ प्राप्त गर्नेछन्। उपविजेताले ५१ लाख, तेस्रो स्थानले २५ लाख र चौथो स्थानले १५ लाख रुपैयाँ पाउने व्यवस्था गरिएको छ। क्यानले दैनिक ९,४५० टिकट बिक्री गरिने जनाएको छ।


















