समाचार
हल्दिबारी संवाददाता ७ महिना अगाडि

नेपालका नेता : राजा महेन्द्रपछि केपी शर्मा ओली

इन्द्र प्रसाद ओली

नेपालको आधुनिक राजनीतिक यात्रामा पृथ्वीनारायण शाहपछि सर्वाधिक प्रभावशाली मानिएका राजाहरूको सूचीमा राजा महेन्द्रको नाम उठ्ने गर्दछ। एक समय आलोचना, भ्रम र आरोपहरूको घेरामा रहेका राजा महेन्द्र आज इतिहासले पुनर्मूल्यांकन गरेको पात्र बनेका छन्—दूरदर्शी, राष्ट्रवादी र विकासप्रेमी शासकका रूपमा।

विज्ञापन (Advertisement)Advertisement

समय बितेपछि मात्र धेरै कुराको वास्तविक अर्थ बुझ्ने हाम्रो समाजिक प्रवृत्तिले इतिहासलाई हरेक दशकमा नयाँ धारणा र व्याख्याको विषय बनाइराखेको छ।

बाह्य हस्तक्षेप, आन्तरिक अस्थिरता र नेपालको चुनौती

नेपाललाई क्षेत्रीय तथा विश्व शक्तिहरूले सदैव भूराजनीतिक प्रतिस्पर्धाको मैदानमा राख्दै आएका छन्। जातीय, धार्मिक र पहिचानआधारित राजनीति उचालेर “विभाजित गर, शासन गर” भन्ने औपनिवेशिक रणनीति विगत केही वर्षयता झनै सक्रिय भएको देखिन्छ।

स्थिर सरकारहरू समेत २४ घण्टा टिक्न नसक्ने परिस्थितिले बाह्य–आन्तरिक कुटनीतिक तानातान कति गहिरो छ भन्ने स्पष्ट गर्छ।

यिनै चुनौतीबीच उदाएका नेता—केपी शर्मा ओली

२०७२ सालमा पहिलोपटक प्रधानमन्त्री बनेपछि केपी शर्मा ओलीले राष्ट्रहित, राष्ट्रिय स्वाभिमान र सन्तुलित कूटनीतिक अडानलाई प्राथमिकता दिए। यही अडान धेरैलाई असहज लाग्यो, र विभिन्न अन्तर्राष्ट्रिय तथा आन्तरिक शक्ति केन्द्रहरूले ओलीलाई लक्षित गरेर भ्रम फैलाउने कार्य बढाएको विश्लेषकहरूको निष्कर्ष छ।

उनको पहिलो, दोस्रो र तेस्रो कार्यकालका नीति तथा कार्यक्रमहरू विकासका दृष्टिले प्रभावकारी मानिन्छन्। संयुक्त राष्ट्रसंघ तथा विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरूले ती वर्षहरूमा नेपालको प्रगतिलाई सकारात्मक रूपमा उल्लेख गरेका तथ्यहरू पनि सार्वजनिक छन्। यिनै उपलब्धिहरू नै ओलीविरुद्ध योजनाबद्ध प्रचार–अभियान चलाउन प्रेरक बनेको धारणा बलियो छ।

ओलीको जीवनयात्रा : कठिनाइबाट उक्लिएको नेतृत्व

२००८ साल फागुन ११ गते तेह्रथुमको इवा–२ मा जन्मेका ओली बाल्यकालदेखि नै चुनौतीपूर्ण जीवनबाट गुज्रिए। एक वर्षमै मातृवियोग, पहाडी कष्टपूर्ण जीवन, बसाइँसराइ, झापादेखि काठमाडौं–भक्तपुरसम्मको संघर्षपूर्ण यात्रा—यी सबैले उनलाई दृढ, साहसी र व्यवहारवादी व्यक्तित्वको रूपमा गढायो।

शिक्षा, संगठन निर्माण र आन्दोलनमा सक्रिय रहँदै उनी २०२८ सालमा एसएलसी उत्तीर्ण गरेर झापाको राजनीतिक केन्द्रमा प्रवेश गरे। झापा विद्रोहका प्रमुख पात्र मध्येका एक ओली १४ वर्ष लामो जेलजीवनबाट राजनीतिक परिपक्वता, वैचारिक स्पष्टता र भाषणकलामा निखारसहित बाहिरिएका थिए।

राजनीतिक यात्राको मुख्य मोड

२०४८ र २०५९ मा प्रतिनिधिसभा सदस्य

२०५१–५२ मा गृहमन्त्री

२०६४–६५ मा उपप्रधान तथा परराष्ट्रमन्त्री

२०७२, २०७५ र पछिल्लो कार्यकालमा प्रधानमन्त्री

२०७१ को नवौं महाधिवेशनमा अध्यक्ष निर्वाचित

ओली दीर्घकालीन रूपमा राष्ट्रिय स्वाभिमान, लोकतन्त्र, सामाजिक सद्भाव र राष्ट्रिय एकताको पक्षधर नेता मानिन्छन्।

राष्ट्रिय स्वाभिमानका सवालमा देखिएको अडान

ओलीको नेतृत्वमा अघि बढाइएका धेरै निर्णयहरू राष्ट्रियतासँग बलियो रूपमा जोडिएका देखिन्छन्—

योगको उत्पत्ति नेपालमा हुन सक्ने अनुसन्धानको उठान

राम जन्मभूमि ठोरी हुन सक्ने दाबी

कोरोना महामारीका बेला सीमासम्बन्धी अडान

चीनसँग प्राविधिक सहकार्यमा खनिज उत्खनन

थर लेख्ने अधिकार, सुकुम्बासी व्यवस्थापन

पशुपतिनाथमा सुधार, जलारी व्यवस्था

रेलमार्ग, जलमार्ग, ऊर्जा, हुलाकीमार्गका महत्वाकांक्षी योजना

सम्पत्ति राज्यको नाममा दिने घोषणा

सामाजिक सञ्जाललाई कर–दायरा भित्र ल्याउने प्रयास

प्रदेश नामकरणमा जातीय विभाजन रोक्ने अडान

यिनै विषयले उनलाई राष्ट्रवादी, दूरदर्शी र निडर नेताको छवि बनाइदियो। स्वाभिमानमा अडान राख्ने नेतृत्व नै विदेशी हस्तक्षेपको निशानामा पर्नु इतिहासकै पुनरावृत्ति हो—राजा महेन्द्र, राजा वीरन्द्र र राजा ज्ञानेन्द्रका सन्दर्भले पनि यही देखाउँछ।

ओली र राजसंस्थाबारे बढिरहेको बहस

विगत केही वर्षयता नागरिक समाज, बौद्धिक वर्गदेखि राजनीतिक नेतृत्वसम्ममा राजसंस्थाको आवश्यकता पुनः उठ्न थालेको छ। मुलुकमा स्थिरता, राष्ट्रिय एकता र स्वाभिमान जोगाउन ओली र राजसंस्थाको संयोजन नै दीर्घकालीन समाधान बन्न सक्छ भन्ने धारणा विस्तारै बलियो बन्दै गएको छ।

प्रधानमन्त्री बनेको १०० दिन नपुग्दै ओलीप्रति पुनः समर्थन बढ्नुले जनभावनाको संकेत स्पष्ट देखिन्छ—देशले अब बलियो नेतृत्व, राष्ट्रिय एकता र स्वावलम्बनका मार्गदर्शक चाहेको छ।

निष्कर्ष : स्थिर, समृद्ध र स्वाभिमानी नेपालका लागि

ओलीका सबै विचार वा निर्णय पूर्णतया सही हुन् भन्नु अनुचित होला। तर राष्ट्रिय हित, सीमा सुरक्षा, विदेशी हस्तक्षेप, आर्थिक स्वावलम्बन र राष्ट्रिय एकताका विषयमा उनले उठाएका प्रश्न र अडानको गम्भीर विश्लेषण र जनस्तरमा सही बुझाइ अत्यन्तै आवश्यक छ।

आजको अवस्था यस्तो छ कि—

राष्ट्रवाद, स्वाभिमान, सांस्कृतिक विरासत, आन्तरिक सद्भाव र राजनीतिक स्थिरता कायम गर्न स्वदेशी नेतृत्व, दूरदृष्टि र दृढ अडान अनिवार्य छ।

यही संयोजन ओलीबाट सम्भव छ भन्ने विश्वास जनमानसमा विस्तारै गहिरिँदै गएको छ।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)