बिर्तामोड । झापामा दैनिक ७० देखि ९० युनिटसम्म रगत खपत हुने गरे पनि स्वयम्सेवी रक्तदाताको संख्या भने घट्दै गएको छ। बिरामीको उपचारका लागि रगतको माग निरन्तर बढे पनि दाताको संख्या घट्दा व्यवस्थापनमा चुनौती थपिएको नेपाल रेडक्रस सोसाइटी झापा शाखाले जनाएको छ।

नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालका अनुसार जिल्लामा खपत हुने रगतको ठूलो हिस्सा मिर्गौलाका बिरामीको डायलासिसमा प्रयोग हुने गर्छ। डायलासिसका लागि मात्रै दैनिक ३० देखि ५० युनिटसम्म रगत आवश्यक पर्छ। यसबाहेक दुर्घटनाका घाइते, क्यान्सरका बिरामी र प्रसूति सेवासहित अन्य आकस्मिक उपचारका लागि रगत आपूर्ति गरिँदै आएको छ।

युवा पुस्ता वैदेशिक रोजगारीका लागि विदेशिने क्रम बढेको र स्वदेशमा रहेका अधिकांश मानिसमा दीर्घरोग, उच्च रक्तचाप तथा मधुमेहजस्ता स्वास्थ्य समस्या देखिँदा नियमित रक्तदाताको संख्या प्रभावित भएको हो। ४५ किलोग्रामभन्दा बढी तौल भएका स्वस्थ युवाले रक्तदान गर्न सक्ने भए पनि योग्य मानिसको कमीले भविष्यमा रगत अभावको संकट गहिरिन सक्ने चिन्ता व्यक्त गरिएको छ।
झापामा रगत अभाव हुन नदिन हाल बिर्तामोडमा दुई, भद्रपुरमा एक र दमकमा तीन गरी ६ वटा ब्लड बैंक सञ्चालनमा छन्। आकस्मिक अवस्थामा रगत व्यवस्थापन गर्न ‘अनकल’ सेवामार्फत सम्बन्धित रक्त समूहका दातालाई फोन गरेर सिधै बोलाउने गरिएको छ।
यसैगरी बिर्तामोड र भद्रपुरमा रहेका ‘कम्पोनेन्ट मेसिन’बाट रगतका अवयव छुट्याएर एक युनिट रगतबाट तीन जना बिरामीसम्मलाई उपलब्ध गराउने गरिएको छ। डेङ्गुका बिरामीका लागि प्लेटलेट, प्लाज्मा तथा अन्य अवयव आवश्यकता अनुसार प्रयोग गरिन्छ। सेपरेशन गरिएको रगतका अवयवलाई माइनस ४० डिग्री सेल्सियससम्मको तापक्रममा लामो समय सुरक्षित राख्न सकिने रेडक्रसले जनाएको छ।
झापाबाट विराटनगर, धरान, लहान र काठमाडौँका साथै पूर्वी नाका काँकरभिट्टा र गलगलिया हुँदै भारतका पश्चिम बंगाल र बिहारका अस्पतालहरूमा समेत आवश्यकता अनुसार रगत पठाउने गरिएको छ।
विगतमा एउटै खुला रक्तदान कार्यक्रममा दुई सय युनिटसम्म रगत संकलन हुने गरेकोमा अहिले ५० युनिट जुटाउन पनि धौधौ पर्ने गरेको छ। रगत कुनै कारखानामा उत्पादन गर्न नसकिने भएकाले बिरामीको ज्यान जोगाउन स्वस्थ नागरिकलाई नियमित रक्तदानमा सहभागी हुन रेडक्रस झापा शाखाले आग्रह गरेको छ।