झापा । हुलाकी राजमार्ग अन्तर्गत झापा गाउँपालिका–स्थित पश्चिम कन्काई नदीमा निर्माणाधीन पुल १२ वर्ष बितिसक्दा पनि पूरा हुन सकेको छैन।

ठेकेदार पक्ष र सरकारी निकायको चरम उदासीनता तथा लापरवाहीका कारण स्थानीय बासिन्दा र सेवाग्राहीले दैनिक रूपमा सास्ती भोग्दै आएका छन्।


बर्खा सुरु भएसँगै पुल नहुँदा स्थानीयहरू ज्यान जोखिममा राखेर डुंगा (नाउँ) प्रयोग गरी आवतजावत गर्न बाध्य छन्। वर्षेनी अस्थायी रूपमा बाँसको पुल बनाएर पैदलयात्री र मोटरसाइकललाई वारपार गराउने गरिएको छ, तर यो समाधान दीर्घकालीन होइन।

यो अवधिमा १० भन्दा बढी सरकार फेरिए, नीति–नियम र प्रतिबद्धता फेरिए, तर पुलको अवस्था उस्तै छ। जनताले तिरेको करबाट बन्ने भनिएको विकास संरचना वर्षौँसम्म अलपत्र पर्दा ‘लोकतन्त्रको विकास’ भन्ने नारामाथि गम्भीर प्रश्न उठ्न थालेको छ।

स्थानीयवासी सोधिरहेका छन्— यो पुल लोकतन्त्रको उपलब्धि हो कि राज्यको असफलताको प्रतीक?

