समाचार
हल्दिबारी संवाददाता ७ महिना अगाडि

असंवैधानिक सरकारविरुद्ध एमाले झापाको खवरदारी कार्यक्रम घोषणा

बिर्तामोड । नेकपा एमाले झापाले वर्तमान सरकार असंवैधानिक दिशातर्फ गएको आरोप लगाउँदै त्यसविरुद्ध खवरदारी कार्यक्रम घोषणा गरेको छ। बिर्तामोडस्थित जिल्ला पार्टी कार्यालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमार्फत कार्यक्रमको जानकारी दिइएको हो।

एमाले झापाका अध्यक्ष प्रेम गिरीले सरकारका असंवैधानिक गतिविधिका विरुद्ध जनतालाई सचेत गराउन खवरदारी कार्यक्रम गर्न लागिएको बताए। उनले लोकतान्त्रिक शक्तिहरूलाई कार्यक्रममा सहभागी हुन आह्वानसमेत गरे। उनका अनुसार पुस १० गते बिर्तामोड र दमकमा खवरदारी कार्यक्रम आयोजना गर्ने तयारी छ।

विज्ञापन (Advertisement)Advertisement

अध्यक्ष गिरीले वर्तमान सरकारले ‘अध्याँरो कोठामा बसेर षड्यन्त्र’ गरेको आरोप लगाउँदै त्यसको भण्डाफोर गर्दै जनतालाई सचेत गराउने उद्देश्यले कार्यक्रम गर्न लागिएको बताए। प्रतिगामी तत्वहरूको षड्यन्त्रलाई मुकदर्शक भएर बस्न नसकिने उल्लेख गर्दै उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित अन्य नेताहरूविरुद्ध विभिन्न बहानामा षड्यन्त्र र आक्रमणको प्रयास भइरहेको दाबी गरे।

उनले सरकारका सबै खाले षड्यन्त्रविरुद्ध अब लोकतान्त्रिक शक्तिहरू सडकमा आउने बताए। सोही क्रममा पालिका, वडा र टोलस्तरसम्म सुरक्षा समिति परिचालन गर्ने, कसैमाथि आक्रमण नगर्ने तर प्रतिगामी सत्ता र विदेशी दलालबाट हुन सक्ने हुलहुज्जतको प्रतिकार गर्न गाउँ–गाउँ र बस्ती–बस्तीमा प्रतिरक्षात्मक तयारी गर्न अपिल गरिएको उनले जानकारी दिए।

पत्रकार सम्मेलनमा पार्टीले चरणबद्ध रूपमा थप प्रदर्शनका कार्यक्रमहरू पनि आयोजना गर्दै जाने जनाएको छ। जारी विज्ञप्तिमा गत भदौ २४ गते भएको देशव्यापी विध्वंस आकस्मिक नभई देशी तथा विदेशी शक्तिहरूको लामो योजना र षड्यन्त्रको परिणाम भएको दाबी गरिएको छ।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)