हल्दीबारी, झापा। । रोटरी क्लब अफ बिर्तामोड मिडटाउन र रोटर्याक्ट क्लब अफ बिर्तामोड मिडटाउनको संयुक्त आयोजनामा ‘रोटरी एन्ड रोटर्याक्ट पिकनिक–२०२५’ तथा रोटरी क्लब अफ बिर्तामोड मिडटाउनको चौथो क्लब असेंब्ली एवं साधारण सभा सम्पन्न भएको छ।
हल्दिबारी गाउँपालिका–२ स्थित भेलागुडी सिमसारमा आयोजित कार्यक्रममा क्लबकी अध्यक्ष पुष्पाञ्जलि सिंहाको अध्यक्षता रहेको थियो। कार्यक्रमको असेंब्ली सत्र सहायक गभर्नर विनोद चापागाईंले सञ्चालन गर्दै क्लबअन्तर्गतका विभिन्न समितिहरूले प्रस्तुत गरेका प्रतिवेदनहरूको अवलोकन तथा समीक्षा गरेका थिए। उनले प्रतिवेदनहरूप्रति आवश्यक सुझाव दिँदै क्लबको सक्रियता र कार्यसम्पादनको प्रशंसा गरे।
कार्यक्रमका अवसरमा क्लबको नियमित बुलेटिनसमेत सार्वजनिक गरिएको थियो। बुलेटिनको लोकार्पण क्लबका पूर्व अध्यक्षहरू, वर्तमान अध्यक्ष, सचिव तथा पब्लिक इमेज समितिकी अध्यक्ष अर्पणा शर्माले संयुक्त रूपमा गरेका थिए।
कार्यक्रमले सदस्यहरूबीच आपसी सद्भाव, सहकार्य र संस्थागत एकता थप मजबुत बनाएको आयोजकले जनाएका छन्।

















