झापा । कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४औँ वार्षिक साधारण सभा आइतबार त्रियुगेश्वर शिव मन्दिर परिसर, ढडुवामा भव्य तथा सभ्य वातावरणका बीच सम्पन्न भएको छ।सहकारीको

संस्थागत विकास, वित्तीय पारदर्शिता र समुदायप्रतिको उत्तरदायित्वलाई उजागर गर्ने उद्देश्यसहित आयोजना गरिएको साधारण सभामा शेयर सदस्य, सहकारीकर्मी तथा सरोकारवालाको उल्लेखनीय उपस्थिति रहेको थियो।
साधारण सभाको प्रमुख अतिथिका रूपमा हल्दिबारी गाउँपालिका वडा नं. ३ का अध्यक्ष विष्णु प्रसाद ओली रहनुभएको थियो। कार्यक्रममा वडा सदस्यहरू कर्ण भण्डारी, अजित कुमार बिष्ट, विष्णु माया तिम्सिना, रातमाटे सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष जनक तामाङ, त्रियुगेश्वर शिव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराम पोखरेल, शुभ प्रभात कृषि सहकारीका उपाध्यक्ष गोविन्द घिमिरेलगायत विभिन्न सहकारीका प्रतिनिधि, शेयर सदस्य र स्थानीयवासीको सहभागिता थियो।

प्रमुख अतिथि ओलीले पानसमा दीप प्रज्वलन तथा ब्यानर वाचनमार्फत साधारण सभाको औपचारिक उद्घाटन गर्दै सहकारीले स्थानीय समुदायको आर्थिक सशक्तीकरण, उद्यमशीलता प्रवर्द्धन र आत्मनिर्भरतामा खेलेको भूमिका प्रशंसनीय रहेको बताउनुभयो। उहाँले सहकारीलाई सामाजिक तथा आर्थिक रूपान्तरणको महत्वपूर्ण आधारस्तम्भका रूपमा अझ सुदृढ बनाउँदै लैजानुपर्नेमा जोड दिनुभयो।

साधारण सभामा जेष्ठ नागरिक सम्मान कार्यक्रम अन्तर्गत सन्त कुमारी लिम्बु र मैयावति महतोलाई दोसल्ला, प्रमाणपत्र तथा नगदसहित सम्मान गरिएको थियो। त्यसैगरी उत्कृष्ट बचतकर्ता तर्फ मङ्गलि मेचे, उत्कृष्ट ऋणी पवित्रा भारती र उत्कृष्ट बाल बचतकर्ता प्रकृति मेचेलाई सम्मान प्रदान गरियो। शैक्षिक उपलब्धिको कदर गर्दै एसईई परीक्षामा उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थीमध्ये सामुदायिक विद्यालयतर्फ गरिमा पोखरेल र संस्थागत विद्यालयतर्फ सुरज भट्टराईलाई सम्मान गरिएको थियो।

शुभकामना मन्तव्यका क्रममा रातमाटे सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष जनक तामाङ र शुभ प्रभात कृषि सहकारीका उपाध्यक्ष गोविन्द घिमिरेले सहकारीले समुदायको आर्थिक तथा सामाजिक विकासमा पुर्‍याएको योगदानको प्रशंसा गर्नुभयो। त्यसपछि प्रमुख अतिथिबाट समेत प्रेरणादायी शुभकामना मन्तव्य व्यक्त गरिएको थियो।
सहकारीका अध्यक्ष बन्डा मेचेले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको वित्तीय अवस्था सार्वजनिक गर्नुभयो।उहाँका

अनुसार चालु आर्थिक वर्षमा सहकारीको कुल आम्दानी ४८ लाख ५३ हजार ९५५ रुपैयाँ ९२ पैसा रहेको छ भने खर्च ४३ लाख ७० हजार ६३८ रुपैयाँ ६४ पैसा पुगेको छ। सहकारीले १ लाख ५० हजार ५५४ रुपैयाँ ९९ पैसा नाफा आर्जन गरेको छ।

हाल सहकारीमा ९६० जना शेयर सदस्य रहेका छन्। सेयर पूँजी ५ लाख ९ हजार ६ सय रुपैयाँ पुगेको छ भने निक्षेप संकलन ६१ लाख ६७ हजार ८७६ रुपैयाँ ९१ पैसा र कर्जा लगानी ९१ लाख ४६ हजार ८८ रुपैयाँ ९० पैसा पुगेको अध्यक्ष मेचेले जानकारी दिनुभयो। वार्षिक तुलनात्मक विवरणअनुसार आ.व. ०८०/०८१ को तुलनामा आ.व. ०८१/०८२ मा सहकारीले उल्लेखनीय प्रगति हासिल गरेको जनाइएको छ।

कार्यक्रमको अन्त्यमा अतिथिहरूलाई मायाको चिनोस्वरूप मसला, बेसार तथा न्यायो टोपी प्रदान गरिएको थियो। सहभागीहरूले सहकारीको १४ वर्षे यात्राले संस्था थप पारदर्शी, उत्तरदायी र सबल बन्दै गएको सन्देश दिएको प्रतिक्रिया दिएका छन्।

कार्यक्रमको अध्यक्षता सहकारी अध्यक्ष बन्डा मेचेले गर्नुभएको थियो। स्वागत मन्तव्य सहसचिव तुलसा आचार्यले राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन तथा सहजीकरण सचिव बोधकृष्ण पौडेल को रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार