हल्दीबारी, झापा, पुस १७ । जिल्ला समन्वय समिति झापाद्वारा गरिएको असल अभ्यास मूल्याङ्कनमा हल्दीबारी गाउँपालिका जिल्लाका गाउँपालिकामध्ये प्रथम हुन सफल भएको छ।
सेवा प्रवाह, कार्यसम्पादन मूल्याङ्कन तथा विभिन्न सूचकका आधारमा गरिएको मूल्याङ्कनमा सीमित स्रोतसाधनका बाबजुद पनि विकास निर्माण, शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा प्रभावकारी कार्य गरेको भन्दै हल्दीबारी गाउँपालिकालाई उत्कृष्ट घोषित गरिएको हो।
जिल्ला समन्वय समिति झापाका प्रमुख विश्वनाथ बरालले जनप्रतिनिधि र कर्मचारीबीचको इमानदारी, समन्वय र प्रतिबद्धताका कारण हल्दीबारी गाउँपालिका असल अभ्यासको नमुना बन्न सफल भएको बताउनुभयो। सीमित स्रोतसाधन हुँदाहुँदै पनि हासिल गरिएको उपलब्धि प्रशंसनीय रहेको उहाँको भनाइ थियो।
गाउँपालिका अध्यक्ष रविन्द्र लिङ्देनले प्राप्त सम्मानले खुशीसँगै थप जिम्मेवारी र चुनौती पनि बढाएको उल्लेख गर्नुभयो। उहाँले यस उपलब्धिलाई निरन्तरता दिँदै अझ प्रभावकारी सेवा प्रवाहमा लागिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
उक्त अवसरमा जिल्ला समन्वय अधिकारी अमृतबहादुर राईले गाउँपालिकाले गरेका कामको प्रशंसा गर्दै कर्मचारीहरूले इमानदारीपूर्वक कार्य गर्नुपर्ने र जनप्रतिनिधिले कामको उचित मूल्याङ्कन गर्नुपर्ने बताउनुभयो। आपसी सहकार्य र समन्वय भए थोरै स्रोतबाट पनि धेरै उपलब्धि हासिल गर्न सकिने उहाँको भनाइ थियो। साथै केही दिनभित्र गाउँपालिकालाई औपचारिक रूपमा सम्मान गरिने जानकारी पनि दिनुभयो।
गाउँपालिकाको सभाहलमा आयोजित अन्तरक्रिया कार्यक्रमको अध्यक्षता गाउँपालिका अध्यक्ष लिङ्देनले गर्नुभएको थियो भने कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति झापाका प्रमुख बराल रहनुभएको थियो।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, वडा अध्यक्षहरू देवीबहादुर थापा, सुकलाल राजवंशी र सन्तकुमार थापा, कार्यपालिका सदस्यहरू, वडा सदस्यहरू, गाउँपालिकाका विभिन्न शाखा प्रमुख, कर्मचारी तथा वडा सचिवहरूको उपस्थिति रहेको थियो।
गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन महेन्द्रले स्वागत मन्तव्यसहित सञ्चालन गर्नुभएको कार्यक्रममा योजना शाखा प्रमुख राजन न्यौपानेले गाउँपालिकाको विस्तृत विवरण प्रस्तुत गर्नुभएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार