झापा । हल्दीबारी गाउँपालिका–३ र भद्रपुर नगरपालिका–७ लाई जोड्ने देउनिया खोलाको झोलुङ्गे पुलको आज संयुक्त रूपमा उद्घाटन गरिएको छ।
हल्दीबारी -३ गैरीगाउँ हुँदै भद्रपुर–७ स्थित बुधकरण स्टेट जोड्ने देउनिया खोलामा ११७.४० मिटर लम्बाइको उक्त झोलुङ्गे पुलको भद्रपुर नगरपालिका प्रमुख गणेश पोखरेल र हल्दीबारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङदेनले संयुक्त रूपमा उद्घाटन गर्नुभएको हो।
आर्थिक वर्ष २०७६/७७ को बजेट अन्तर्गत ९२ लाख रुपैयाँ लागत अनुमानमा टेन्डर प्रक्रिया अघि बढाइएको यो पुल उपभोक्ता समिति तथा सामान खरिद टेन्डरमार्फत करिब ७५ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको हो। “लालीगुराँस झोलुङ्गे पुल” नाम दिइएको उक्त पुल २०७९ साल कात्तिक १० गते निर्माण सम्पन्न भए पनि औपचारिक उद्घाटन भने आज मात्र गरिएको हो।
पुल निर्माणका लागि संघीय सरकारसँग समन्वय गरी भद्रपुर नगरपालिका मार्फत बजेट विनियोजन तथा निर्माण प्रक्रिया अघि बढाउन हल्दीबारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन महेन्द्रले महत्वपूर्ण पहल गर्नुभएको थियो।
निर्माण सम्पन्न भएको तीन वर्षपछि हल्दीबारी गाउँपालिका–३ गैरीगाउँमा आयोजित विशेष कार्यक्रममा पुलको उद्घाटन गरिएको हो। पुल सञ्चालनमा आएपछि यस क्षेत्रका करिब ५०० घरपरिवार लाभान्वित हुने स्थानीयले बताएका छन्।
उपभोक्ता समितिमार्फत पुल निर्माण सम्पन्न भए पनि लामो समयसम्म औपचारिक उद्घाटन हुन नसकेको अवस्थामा प्रमुख प्रशासकीय अधिकृत वन महेन्द्रको विशेष चासो र पहलमा दुवै पालिकाका प्रमुख, जनप्रतिनिधि, स्थानीय सरोकारवाला तथा सञ्चारकर्मीहरूको उपस्थितिमा उद्घाटन कार्यक्रम सम्पन्न गरिएको हो।
हल्दीबारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङदेनको अध्यक्षता तथा भद्रपुर नगरपालिका प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा दुवै प्रमुखले पुलको आवश्यकता, स्थानीयवासीले भोग्दै आएको समस्या र पुल निर्माणपछि प्राप्त हुने फाइदाका विषयमा धारणा राख्नुभएको थियो।
कार्यक्रममा भद्रपुर नगरपालिका उपप्रमुख राधा कार्की, हल्दीबारी गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, भद्रपुर वडा नं. ७ का वडाध्यक्ष अभिषेक ढुङ्गाना, हल्दीबारी वडा नं. ३ का वडाध्यक्ष विष्णु प्रसाद ओली, हल्दीबारी वडा नं. १ का वडाध्यक्ष देवीबहादुर थापा, वडा नं. ४ का वडाध्यक्ष सन्तकुमार थापा मगरलगायत जनप्रतिनिधि, कर्मचारी, स्थानीय तथा सञ्चारकर्मीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
उक्त अवसरमा पुल निर्माणमा महत्वपूर्ण भूमिका खेलेको पुल निर्माण उपभोक्ता समितिका सदस्यहरूलाई कदरपत्र प्रदान गरी सम्मान गरिएको थियो।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन महेन्द्रले पुल निर्माणको औचित्यबारे मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सहजीकरण गाउँपालिका योजना शाखा प्रमुख राजन न्यौपानेले गर्नुभएको थियो।
हल्दीबारी–भद्रपुर जोड्ने देउनिया खोलाको लालीगुराँस झोलुङ्गे पुलको संयुक्त उद्घाटन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
+1
+1
+1
+1

















