हल्दिबारी । हल्दिबारी गाउँपालिका–४ र ५ को सिमानामा पर्ने अधिकारी चोक पछिल्लो समय दुर्घटनाको केन्द्र बन्दै गएपछि त्यसको नियन्त्रणका लागि स्थानीयस्तरबाट संगठित पहल सुरु भएको छ। अनियन्त्रित सवारी गति र भारी सवारीसाधनको चापका कारण जोखिम बढ्दै गएपछि नागरिक, सामाजिक संघसंस्था र राजनीतिक प्रतिनिधिहरू एकजुट भएका हुन्।
स्थानीय युवाहरू, सामाजिक अभियन्ता, राजनीतिक दलका प्रतिनिधि, सामुदायिक वनका पदाधिकारी, व्यवसायी तथा यात्रुहरूको सहभागितामा तयार पारिएको ध्यानाकर्षण पत्र वडा नं–४ का अध्यक्ष सन्त कुमार थापा मगर र वडा नं–५ का अध्यक्ष खड्ग लावतीलाई बुझाइएको छ। पत्रमा अधिकारी चोक क्षेत्रमा तत्काल सावधानी संकेत बोर्ड, गति नियन्त्रण सूचक, सडक मार्किङ र अन्य आवश्यक सुरक्षा संरचना जडान गर्न माग गरिएको छ।
ढडुवा युवा क्लबका सचिव तथा अभियन्ता अभिषेक खतिवडाका अनुसार पछिल्लो समय उक्त क्षेत्रमा दुर्घटनाको जोखिम उल्लेखनीय रूपमा बढेको छ। “दुर्घटनाको संख्या बढ्दै गएपछि स्थानीयले प्रत्यक्ष सरोकार राख्दै साझा आवाज उठाएका हौँ,” उनले भने।
अभियानमा नेपाल रेडक्रस सोसाइटी जलथल, ढडुवा युवा क्लब, जेसिज हल्दिबारी, महेन्द्र माध्यमिक विद्यालयका पूर्व विद्यार्थी समाज, हरियाली तथा शान्ति सामुदायिक वनसहित विभिन्न सामाजिक र सामुदायिक समूहहरूको सक्रिय सहभागिता रहेको थियो।
दुवै वडाध्यक्षहरूले नागरिकस्तरबाट आएको पहललाई सकारात्मक रूपमा ग्रहण गर्दै आवश्यक प्रक्रिया छिट्टै अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्। उनीहरूले सम्बन्धित निकायसँग समन्वय गरी सडक सुरक्षाका उपायहरू क्रमशः कार्यान्वयन गर्ने बताएका छन्।
सडक सुरक्षालाई प्राथमिकतामा राख्दै अघि बढाइएको यस अभियानले हल्दिबारीमा सचेत नागरिक सहभागिताको सकारात्मक उदाहरण प्रस्तुत गरेको सहभागीहरूको धारणा छ। कार्यक्रममा बलराम गिरी, भरत ढकाल, बिरेन पराजुलीलगायत विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
हल्दिबारीको अधिकारी चोकमा दुर्घटना जोखिम बढेपछि नागरिकस्तरबाट संगठित पहल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
+1
+1
+1
+1

















