समाचार
हल्दिबारी संवाददाता ५ महिना अगाडि

निर्वाचन नजिकिँदै पनि कचनकबलका सीमावर्ती बस्तीमा उम्मेदवारप्रति अन्योल

झापा–३ का सीमावर्ती गाउँमा चुनावी चहलपहल शून्यजस्तै

चुनाव हुँदैछ थाहा छ, उम्मेदवार को हुन् थाहा छैन’ : कचनकबलका मतदाता

विज्ञापन (Advertisement)Advertisement

आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरुको मनोनयन दर्ता भइसकेसँगै देशका अधिकांश शहरी तथा ग्रामीण क्षेत्रमा चुनावी चहलपहल बढ्न थालेको छ । सामाजिक सञ्जालदेखि चिया पसल, चौतारी र बस्तीहरूसम्म ‘यसपालि कसलाई मत हाल्ने’, ‘कस्तो प्रतिनिधि रोज्ने’ भन्ने विषयमा बहस भइरहेका छन् । राजनीतिक दलका नेता तथा स्वतन्त्र उम्मेदवारहरु पनि औपचारिक प्रचार सुरु नहुँदै मतदाता भेटघाटमा व्यस्त देखिन थालेका छन् ।तर झापाको निर्वाचन क्षेत्र नं. ३ अन्तर्गत पर्ने दक्षिणी सीमावर्ती कचनकबल गाउँपालिकाका केही बस्तीमा भने निर्वाचन नजिकिँदै गर्दा पनि अपेक्षित चुनावी गतिविधि देखिन सकेको छैन । भारतको बिहार राज्यसँग सिधा जोडिएको यो सीमावर्ती क्षेत्रमा बसोबास गर्ने स्थानीय मतदाताले निर्वाचन हुँदैछ भन्ने जानकारी त पाएका छन्, तर ‘को–को उम्मेदवार छन्’ भन्ने विषयमै अन्योल रहेको बताएका छन् ।कचनकबल गाउँपालिका–५ का स्थानीय पूर्ण कुमार गणेश भन्नुहुन्छ, “समाचार र सामाजिक सञ्जालबाट चुनाव हुँदैछ भन्ने त थाहा छ, तर यहाँबाट को उम्मेदवार उठेका छन् भन्ने जानकारी छैन । पहिले–पहिले चुनाव लडेर गएका नेताहरुको नाम त थाहा छ, तर यसपालि नयाँ–नयाँ को आउँदैछन् भन्ने थाहा छैन ।”उहाँका अनुसार अहिलेसम्म न त पुराना दलका उम्मेदवार पुगेका छन्, न त स्वतन्त्र उम्मेदवारी दिएका कुनै व्यक्ति नै स्थानीय बस्तीमा आइपुगेका छन् । “भोट माग्न त चुनाव नजिकिँदा आउलान् भन्ने आशा छ,” उहाँ भन्नुहुन्छ “तर अहिले सम्म त कोही देखिएको छैन ।”कचनकबल–५ कै इद्रिस मिया, जमालुद्दिन मिया र सोर्जु हजाम पनि यही गुनासो दोहोर्याउँछन् । उहाँहरुका अनुसार राष्ट्रिय स्तरमा चर्चामा रहेका राजनीतिक दल, तिनका शीर्ष नेता र समग्र राजनीतिक घटनाक्रमबारे दुर्गम बस्तीका मतदातासमेत जानकार देखिए पनि, आफ्नै निर्वाचन क्षेत्रका उम्मेदवारसँग भने सम्पर्क हुन सकेको छैन ।स्थानीय इद्रिस मिया भन्नुहुन्छ, “रेडियो, मोबाइल र फेसबुकबाट काठमाडौँ लगायत चर्चामा रहेका निर्वाचन क्षेत्रमा नेता के गर्दैछन् भन्ने थाहा हुन्छ । तर यहाँबाट चुनाव लड्ने मान्छे को हो भन्ने नै थाहा छैन । उम्मेदवार आफैँ नआउँदा कसरी चिन्ने ?”सीमावर्ती क्षेत्रका मतदातामा राजनीतिक दल र उम्मेदवारप्रति देखिएको यो दूरीको मुख्य कारण भने निर्वाचनमा देखिँदै आएको पुरानै प्रवृत्ति भएको उनीहरुको बुझाइ छ । “चुनावको बेलामा मात्रै बाचा गर्छन्, भोट माग्न आउँछन्, जितेपछि फर्केर हेर्दैनन्,” जमालुद्दिन मियाको गुनासो छ । उहाँका अनुसार स्वास्थ्य, शिक्षा, सडक पूर्वाधार, स्वच्छ खानेपानी, सिँचाइ र रोजगारी जस्ता आधारभूत समस्या वर्षौँदेखि उस्तै छन् ।कचनकबल गाउँपालिका झापाको दक्षिणी सीमामा पर्ने दुर्गम क्षेत्र मानिन्छ । यहाँका धेरै बस्ती भारतसँग जोडिएका छन् । सीमापारिका भारतीय बजारमा दैनिक उपभोग्य सामग्री सस्तो पाइने भएकाले स्थानीयले नेपालतर्फ महँगो मूल्य तिर्नु परिरहेको समस्या पनि उठाएका छन् । “भारतमा राशन कार्ड, सस्तो खाद्यान्न र स्वास्थ्य सुविधा छ । नेपालमा त्यस्तो सुविधा नहुँदा यहाँका गरिब जनता झन् समस्यामा छन्,” स्थानीय सोर्जु हजाम बताउनुहुन्छ ।यस क्षेत्रका मतदाताहरुले चुनावी उम्मेदवारसँग ठूला भाषणभन्दा पनि आफ्ना दैनिक जीवनसँग जोडिएका यथार्थ समस्या समाधानको अपेक्षा गरेका छन् । तर अहिलेसम्म उम्मेदवारहरु नै गाउँ नपुगेकाले आफ्नो आवाज कसरी राख्ने भन्ने अन्योल उनीहरुमा देखिन्छ ।यद्यपि, केही मतदाता भने मतदानको दिन अझै समय बाँकी रहेकाले उम्मेदवारहरु ढिलो–चाँडो आइपुग्ने विश्वास व्यक्त गर्नुहुन्छ । “अहिले औपचारिक प्रचार सुरु भएको छैन । समय आएपछि उम्मेदवार आउने नै छन्,” पूर्ण कुमार गणेश भन्नुहुन्छ ।निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राजनीतिक दल तथा उम्मेदवारलाई आगामी फागुन ४ गतेदेखि फागुन १८ गतेसम्म औपचारिक प्रचारप्रसारको समय निर्धारण गरिसकेको छ । आयोगका अनुसार उक्त अवधिमा मात्रै सभा, जुलुस, घरदैलो कार्यक्रम, पोस्टर–पम्पलेट लगायतका गतिविधि गर्न पाइनेछ । हाल भने उम्मेदवारहरुलाई मतदाता तथा कार्यकर्ता भेटघाट गर्न अनुमति दिइएको छ, तर त्यसका लागि पनि आचारसंहिताले के गर्न पाइने र के नपाइने स्पष्ट रूपमा तोकेको छ ।झापाको निर्वाचन क्षेत्र नं. ३ मा यसपटक १७ जना उम्मेदवारबीच प्रतिस्पर्धा हुँदैछ । नेपाली काँग्रेसबाट राजेन्द्र कुमार घिमिरे, नेकपा (एमाले) बाट हरी बहादुर राजवंशी, नेपाल कम्युनिष्ट पार्टीबाट डिल्लीराम घिमिरे, राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रकाश पाठक, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजेन्द्र प्रसाद लिङ्देन, जनता समाजवादी पार्टी, नेपालबाट कर्ण लाल राजवंशी, जनमत पार्टीबाट हरसलाल राजवंशी, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्रबाट सन्तोष कटुवाल उम्मेदवार छन् ।यसैगरी उज्यालो नेपाल पार्टीबाट श्यामकृष्ण पाठक, जनता समाजवादी पार्टीबाट विनिता कुमारी राजवंशी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट चन्द्रकला सावा, नेशनल रिपब्लिक पार्टीबाट जयेन मगर, श्रम संस्कृति पार्टीबाट दिपक तिम्सिना, नेपाल मजदुर किसान पार्टीबाट धर्मलक्ष्मी दुवाल (लघु), मंगोल नेशनल अर्गनाइजेसनबाट याम कुमार श्रेष्ठ उम्मेदवार रहेका छन् । साथै अभय राजवंशी र मानप्रकाश संग्रौला स्वतन्त्र उम्मेदवारका रूपमा चुनावी मैदानमा छन् ।निर्वाचन नजिकिँदै गर्दा झापाको निर्वाचन क्षेत्र नं. ३ अन्तर्गतका सीमावर्ती बस्तीमा उम्मेदवार र राजनीतिक दलको सक्रिय उपस्थिति कति देखिन्छ, त्यसले मतदाताको धारणा र मतदान व्यवहारमा कस्तो प्रभाव पार्छ भन्ने विषय चासोको केन्द्रमा रहने देखिन्छ । – दिपक चन्द

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)